अन्तर्राष्ट्रिय योग दिवस (जुन २१, २०२६) को विशेष अवसरमा, सद्गुरुको मार्गदर्शनमा ईशा फाउन्डेसनका स्वयंसेवकहरूद्वारा रचना गरिएको ‘मिराकल अफ माइन्ड’ एप नेपाली भाषामा उपलब्ध हुन गइरहेको छ । बालुवाटारस्थित T21 प्यालेसमा आयोजना हुने एक विशेष ध्यान कार्यक्रममा यसको औपचारिक शुभारम्भ हुनेछ ।
‘मिराकल अफ माइन्ड’ सद्गुरुद्वारा विशेष रूपमा रचना गरिएको एक शक्तिशाली एवम् निर्देशनसहित ध्यान गर्ने एप हो, जसले मानिसहरूलाई नियमित ध्यान अभ्यासमा स्थापित गराउन मद्दत गर्दछ । एक योगी, रहस्यद्रष्टा र दूरदर्शी सद्गुरुले विगत चार दशकदेखि मनुष्यको चेतना माथि उठाउनका लागि रूपान्तरणकारी अभियानको नेतृत्व गर्दै आउनुभएको छ ।
‘मिराकल अफ माइन्ड’ किन ?
नयाँ अध्ययनले भनेअनुसार, हाल विश्वभरि लगभग १.२ अर्ब मानिसहरू मानसिक स्वास्थ्य समस्यासँग जुधिरहेका छन्— जुन सन् १९९० को तुलनामा झण्डै दोब्बर हो । नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (NHRC) को तथ्याङ्कले लगभग १०% नेपाली वयस्कहरूले आफ्नो जीवनभरिमा मानसिक स्वास्थ्य समस्याको सामना गर्ने देखाएको छ । समग्र अनुमानअनुसार, लगभग ३९ लाख नेपाली वयस्कहरू यसको चपेटामा परेका छन्, जसमा डिप्रेसन र चिन्ता प्रमुख हुन् । यस्तो अवस्थामा, ध्यान अहिलेको समयको माग र आवश्यकता बनेको छ । ‘मिराकल अफ माइन्ड’ एपमा ७ मिनेटको सरल ध्यान उपलब्ध छ, जसको माध्यमले तपाईंले आफूमा शान्ति र एकाग्रता स्थापित गर्न सक्नुहुन्छ ।
मानसिक स्वास्थ्यका चुनौतीहरू उर्लिँदै गएको यस जटिल समयमा, सद्गुरुले विश्वलाई ‘मिराकल अफ माइन्ड’ उपलब्ध गराउनुभएको छ, ताकि कम्तीमा ३ अर्ब मानिसहरूलाई आफ्नो मनको अपरिचित क्षमता पहिचान गर्न सक्षम बनाउन सकियोस् । २६ फेब्रुअरी २०२५ मा सार्वजनिक भएको यस एपलाई सुरूको १५ घण्टामै १० लाख मानिसहरूले डाउनलोड गरेका थिए, जसले नोभेम्बर २०२२ मा सोही सङ्ख्या प्राप्त गर्न ५ दिन लगाएको OpenAI को ChatGPT को रेकर्ड समेत तोडेको छ । सार्वजनिक भएको २४ घण्टाभित्रै ‘मिराकल अफ माइन्ड’ अमेरिका, क्यानडा, यूके, अष्ट्रेलिया, सिङ्गापुर, जर्मनी र भारत लगायत २० ओटा राष्ट्रहरूमा ट्रेन्डिङमा रहन सफल भएको थियो । भारतमा यो एप iOS एप स्टोरको ‘हेल्थ एण्ड फिट्नेस’ विधामा पहिलो स्थानमा पुगेको थियो ।