फिफा विश्वकप २०२६- विहान पौने ४ बजे ब्राजिल र मोरक्कोबीच खेल

फिफा विश्वकप २०२६ अन्तर्गत समूह चरणको बहुप्रतीक्षित खेलमा आइतबार प्रतियोगिताको सबैभन्दा सफल टोली ब्राजिलले अफ्रिकन जायन्ट मोरक्कोसँग खेल्दैछ ।

अमेरिकाको न्यु जर्सीस्थित मेटलाइफ रंगशालामा हुने खेल नेपाली समयअनुसार भोली आइतबार बिहान पौने ४ अर्थात् ३:४५ बजे सुरु हुनेछ ।

कतार विश्वकप २०२२ मा ब्राजिलको यात्रा क्वार्टरफाइनलसम्म पुगेर रोकिएको थियो । टोली क्रोएसिया विरुद्ध स्तब्ध बन्यो । त्यसको चार वर्षअघि रुसमन पनि ब्राजिल अन्तिम आठमै रोकिएको थियो । यसपालि ब्राजिल विगतका संस्करणमा गरेका गल्ती सच्याउन चाहन्छ ।

उता एट्लास लायन्स भनेर चिनिने मोरक्कोसँग गत संस्करणमा गरेको ऐतिहासिक प्रदर्शन दाहोर्याउने चुनौती छ । कतारमा टोलीले सेमिफाइनलसम्मको यात्रा गरेको थियो ।

गत वर्ष ब्राजिलियन फुटबलको इतिहास फेरिएको थियो । जतिबेला महासंघले इटालियन कार्लो एन्सिलोटीलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको थियो । योसँगै एन्सिलोटी ब्राजिलियन फुटबल इतिहासमा पहिलो स्थायी विदेशी प्रशिक्षक बने ।

तीन दशकको आफ्नो व्यावसायिक प्रशिक्षण करिअरमा ६७ वर्षीय एन्सिलोटीले भएजति सबै उपाधि जितेका छन् । अहिले उनी आफ्नो प्रशिक्षण करिअरलाई पूर्णता दिन ब्राजिल आएका छन् ।

विश्वकपका सबै संस्करणमा सहभागिता जनाएको ब्राजिलले १ सय १४ मध्ये ७४ खेलमा विजय हासिल गरेको छ । यसबीच ब्राजिलले पाँच पटक प्रतिष्ठित ट्रफी चुम्यो । यद्यपि, २४ वर्ष भइसक्यो, ब्राजिलले विश्वकपको उपाधि जित्न नसकेको ।

ब्राजिलले यसअघि पनि २४ वर्षको पर्खाइपछि आफ्नो चौथो विश्वकप उपाधि उचालेको थियो । सन् १९७० मा ब्राजिलले आफ्नो तेस्रो उपाधि चुमेको थियो । त्यसपछि चौथोपटक च्याम्पियन हुन ब्राजिलले १९९४ सम्म कुर्नुपर्यो । त्यो पनि अमेरिकाको माटोमा । यसपालि त्यही संयोग जुरेको छ ।

विश्वकप इतिहासमा ब्राजिलले आठमध्ये सात पटक अफ्रिकन राष्ट्रलाई हराएको छ । ब्राजिलले एकमात्र हार गत संस्करण क्यामरुनसँग बोहोरेको हो । क्यामरुनले समूह चरणमा ब्राजिललाई १–० ले हराएको थियो । मोरक्को ब्राजिललाई हराउने दोस्रो अफ्रिकन राष्ट्र बन्न चाहन्छ ।

चार वर्षअघि मोरक्कोले विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी टोली बनेर इतिहास रचेको थियो । सातौं विश्वकप अनुभव लिइरहेको मोरक्कोलाई यसपालि प्रतियोगिताकै सबैभन्दा ठूलो ‘डार्क हर्स’ का रूपमा हेरिएको छ ।

रमाइलो के छ भने मोरक्कोले आफ्नो सुरुवाती तीन सहभागिता उत्तर अमेरिकामै जनाएको थियो । मेक्सिको ९१९७० र १९८६० अनि अमेरिका १९९४ मा मोरक्कोले प्रतिनिधित्व गरेको थियो । पहिलो सहभागितमा समूह चरणबाटै बाहिरिएको मोरक्कोले १९८६ मा अन्तिम १६ सम्मको यात्रा गर्यो ।

अमेरिका १९९४ मोरक्कोका लागि बिर्सनलायक रह्यो । टोलीले समूहका तीन वटै खेलमा एक गोल अन्तरले पराजित भयो ।