रास्वपाको नयाँ आर्थिक प्रस्थानस् समृद्धिका लागि फ्युजन

रास्वपाको नयाँ आर्थिक प्रस्थानस् समृद्धिका लागि ‘प्रतिस्पर्धात्मक उदार अर्थतन्त्र’ र ‘सामाजिक लोकतन्त्र’को फ्युजन
चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी स्थापनाको चार वर्षपछि आफ्नो स्पष्ट आर्थिक तथा राजनीतिक मार्गचित्र सार्वजनिक गरेको छ।

चितवनको भरतपुरमा जारी पार्टीको पहिलो महाधिवेशनमा सभापति रवि लामिछानेले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनले रास्वपा अब प्रतिस्पर्धात्मक उदार अर्थतन्त्र र सामाजिक लोकतन्त्रको जगमा अघि बढ्ने नीतिगत घोषणा गरेको हो।

पार्टीको सिद्धान्त र आर्थिक नीतिबारे बजारमा उठिरहेका अलमललाई चिर्दै रास्वपाले अबको आर्थिक समृद्धिको नेतृत्व निजी क्षेत्र र नागरिकको उद्यमशीलताले गर्ने स्पष्ट पारेको छ।

राज्यले व्यापार नगर्ने, निजी क्षेत्रलाई रेगुलेट र नागरिकलाई प्रोटेक्ट गर्ने नीति
रास्वपाले अघि सारेको आर्थिक मोडेलमा राज्य आफैँ व्यापार र उत्पादनमा नअल्झिने नीति लिइएको छ। प्रतिवेदनमा भनिएको छ, रास्वपा यस्तो अर्थतन्त्र निर्माण गर्न चाहन्छ जहाँ राज्यले निष्पक्ष नियम बनाओस्, प्रतिस्पर्धा सुनिश्चित गरोस् र अवसरको ढोका खोलोस्, तर व्यापार र उत्पादन नागरिक तथा निजी क्षेत्रले गरोस्।’

यस नीतिले उद्यमशीलतालाई सम्मान, लगानीको सुरक्षा, नवप्रवर्तनलाई प्रोत्साहन र श्रमलाई प्रतिष्ठा दिने आर्थिक व्यवस्थाको वकालत गरेको छ।

गरिबीको वितरण होइन, समृद्धिको सिर्जना
रास्वपाले परम्परागत वामपन्थी आर्थिक सोचभन्दा फरक धार समात्दै आर्थिक विकासको मुख्य स्रोत राज्य नभएर नागरिकको सिर्जनशीलता, श्रम, पुँजी, ज्ञान र उद्यमशीलता भएको ठहर गरेको छ।

‘आर्थिक स्वतन्त्रता केवल व्यापारको विषय मात्र होइन, यो नागरिक स्वतन्त्रताको पनि महत्वपूर्ण आयाम हो। गरिबीको वितरणबाट होइन, समृद्धिको सिर्जनाबाट मात्र राष्ट्र धनी बन्छ,’ प्रतिवेदनमा भनिएको छ।

राजनीतिक प्रणाली र आर्थिक स्थायित्वको कडी
प्रतिवेदनमा आर्थिक समृद्धिका लागि राजनीतिक स्थिरता अनिवार्य सर्त रहेको उल्लेख गर्दै रास्वपाले स्थिर नेतृत्वसहितको प्रत्यक्ष निर्वाचित कार्यकारी र कम खर्चिलो पूर्ण समानुपातिक निर्वाचन प्रणालीको आर्थिक कोणबाट समेत वकालत गरेको छ । हालको खर्चिलो निर्वाचन प्रणालीले भ्रष्टाचार बढाएको र अर्थतन्त्रलाई शिथिल बनाएको रास्वपाको बुझाइ छ।

यस्तै, फजुल खर्च कटौती र आर्थिक पुनर्संरचनाका लागि प्रदेश सभा र प्रदेश सरकारको पुनर्संरचना गर्ने तथा राष्ट्रिय सभालाई गैरदलीय विशेषज्ञ सभा बनाउने आर्थिक राजनीतिक कार्यदिशा रास्वपाले तय गरेको छ।

सामाजिक लोकतन्त्र र बजार अर्थतन्त्रको सन्तुलन
रास्वपाले अंगीकार गरेको सामाजिक लोकतन्त्रले बजारको गतिशीलता र समाजको समानताको लक्ष्यलाई एकैसाथ अघि बढाउने प्रयास गर्छ।

पुँजीवादको खुला बजारलाई स्वीकार गर्दै विपन्न नागरिकका लागि राज्यले सामाजिक सुरक्षाको ग्यारेन्टी गर्ने मध्यमार्गी आर्थिक बाटो नै रास्वपाको अबको मूल मार्गचित्र हुने महाधिवेशनमा प्रस्तुत प्रतिवेदनले प्रस्ट पारेको छ।