काठमाडौं । नेपाललाई अन्तर्राष्ट्रिय शिक्षाको केन्द्रका रूपमा स्थापित गर्दै ‘स्टडी इन नेपाल’ अभियानलाई प्रभावकारी रूपमा अघि बढाउने उद्देश्यसहित नेपाल शैक्षिक परामर्श संघ (इक्यान) र इन्टरनेशनल एजुकेशन प्रोभाइडर्स एसोसिएसन अफ नेपाल (आइप्यान) बीच रणनीतिक समझदारीपत्रमा हस्ताक्षर भएको छ।
सोमबार काठमाडौंमा सम्पन्न एक कार्यक्रममा दुवै संस्थाले नेपालको उच्च शिक्षाको अन्तर्राष्ट्रियकरण, गुणस्तरीय शिक्षाको सुनिश्चितता तथा नेपाललाई अन्तर्राष्ट्रिय विद्यार्थीहरूको आकर्षक अध्ययन गन्तव्यका रूपमा विकास गर्न संयुक्त रूपमा काम गर्ने प्रतिबद्धता जनाएका हुन् ।
सम्झौतापछि इक्यानका सदस्य शैक्षिक परामर्श संस्थाहरूले आइप्यानका सदस्य कलेज तथा शैक्षिक संस्थाहरूमा सञ्चालन हुने शैक्षिक कार्यक्रम, भर्ना प्रक्रिया, प्रवेश मापदण्ड, छात्रवृत्ति, करियरका अवसरलगायतका विषयमा प्रत्यक्ष र अद्यावधिक जानकारी प्राप्त गर्नेछन्। यसबाट विद्यार्थी तथा अभिभावकलाई अझ तथ्यपरक, विश्वसनीय र गुणस्तरीय शैक्षिक परामर्श सेवा उपलब्ध गराउन सहज हुने विश्वास गरिएको छ।
दुवै संस्थाले व्यावसायिक, पारदर्शी, नैतिक तथा जिम्मेवार कार्य वातावरण निर्माण गर्दै संस्थागत सहकार्यलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।
‘स्टडी इन नेपाल’ अभियानलाई संयुक्त रूपमा प्रवद्र्धन गर्ने, नेपाललाई अन्तर्राष्ट्रिय विद्यार्थीहरूको आकर्षक अध्ययन गन्तव्यका रूपमा स्थापित गर्ने तथा अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना, शैक्षिक ब्रान्डिङ, अनुसन्धान, अन्तर्राष्ट्रिय साझेदारी र शैक्षिक कूटनीतिलाई सशक्त बनाउने सहमति भएको छ ।
यस अभियानमार्फत नेपालको उच्च शिक्षा प्रणालीलाई विश्व समुदायमाझ प्रवद्र्धन गर्दै अन्तर्राष्ट्रिय विद्यार्थी, अनुसन्धानकर्ता तथा शैक्षिक साझेदारहरूलाई नेपालसँग जोड्ने लक्ष्य लिइएको छ।
सम्झौताअनुसार दुवै संस्थाले क्षमता अभिवृद्धि कार्यक्रम, अन्तरक्रिया, शैक्षिक अभिमुखीकरण, अनुसन्धान, नीतिगत संवाद, बीटुबी (द्य२द्य) नेटवर्किङ कार्यक्रम, अन्तर्राष्ट्रिय शिक्षा सम्मेलन तथा ‘स्टडी इन नेपाल’ अभियानअन्तर्गत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रवद्र्धनात्मक कार्यक्रमहरू पनि संयुक्त रूपमा सञ्चालन गर्नेछन्।
यस्तै, संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत आर्थिक रूपमा कमजोर, जेहेन्दार, प्रतिभाशाली तथा अवसरबाट वञ्चित विद्यार्थीहरूलाई आइप्यानका सदस्य संस्थाहरूमा छात्रवृत्ति तथा विशेष शैक्षिक अवसर उपलब्ध गराउने विषयमा समेत सहकार्य गर्ने सहमति भएको छ।
सम्झौतामार्फत विद्यार्थी, अभिभावक तथा सरोकारवालामाझ अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षासम्बन्धी सही, विश्वसनीय र अद्यावधिक जानकारी प्रवाह गर्ने, गुणस्तरीय शैक्षिक परामर्श प्रणालीलाई थप सुदृढ बनाउने तथा नेपालको शिक्षा क्षेत्रको अन्तर्राष्ट्रिय पहिचान अभिवृद्धि गर्न दुवै संस्थाले संयुक्त रूपमा काम गर्ने जनाइएको छ।
समझदारीपत्र हस्ताक्षर समारोहमा इक्यानका अध्यक्ष लक्ष्मण पौडेल र आइप्यानका अध्यक्ष लक्ष्मण के.सी.ले यस सहकार्यले नेपालको अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रलाई थप व्यवस्थित, प्रतिस्पर्धी, विश्वसनीय र विद्यार्थीमैत्री बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे। उनीहरूले ‘स्टडी इन नेपाल’ अभियानलाई राष्ट्रिय अभियानका रूपमा अघि बढाउन सरकार, विश्वविद्यालय, निजी क्षेत्र तथा अन्तर्राष्ट्रिय साझेदारसँग सहकार्य विस्तार गर्ने प्रतिबद्धता पनि जनाए।
