क्यानडालाई हराउँदै मोरक्को क्वार्टरफाइनलमा

फिफा विश्वकप(२०२६ अन्तर्गत गएराति भएको राउन्ड अफ १६ को खेलमा क्यानडालाई हराउँदै मोरक्को क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

क्यानडा जारी विश्वकपको सहआयोजकसमेत हो।

अमेरिकाको ह्युस्टन स्टेडियममा भएको खेलमा क्यानडालाई ३-० ले हराउँदै मोरक्को क्वार्टरफाइनलमा प्रवेश गरेको हो।

मोरक्कोको जितका लागि अज्जेदिन ओउनाहीले दुई र सुफियान रहिमीले एक गोल गरे। क्यानडाले खेलमा कुनै गोल गर्न सकेन।

खेलको ५० औँ मिनेटमा ओउनाहीले गोल गर्दै मोरक्कोलाई पहिलो अग्रता दिलाएका थिए।

मोरक्कोका कप्तान अच्राफ हाकिमीको असिस्टमा ओउनाहीले गोल गरेका थिए। उनै ओउनाहीले खेलको ८२औँ मिनेटमा गोल गर्दै मोरक्कोलाई २-० को अग्रता दिलाए।

दोस्रो हाफको इन्जुरी समयको अन्तिम मिनेटमा रहिमीले गोल गर्दै मोरक्कोको जित सुनिश्चित गरे।

योसँगै सातौँपटक विश्वकप खेलिरहेको मोरक्को दोस्रोपटक क्वार्टरफाइनलमा प्रवेश गरेको हो।

सन् २०२२ मा मोरक्को पहिलो अफ्रिकी राष्ट्रको रुपमा सेमिफाइनलमा पुगेको थियो। प्रतियोगिताको समूह चरणमा मोरक्कोले क्यानडालाई २(१ गोलले पराजित गरेको थियो।

पहिलोपटक नकआउट चरणमा पुगेको क्यानडा मोरक्कोसँगको हारसँगै विश्वकपबाट बाहिरिएको छ। क्यानडा प्रतियोगिताबाट बाहिरिने पहिलो आयोजक राष्ट्र हो।

जारी विश्वकपका आयोजक राष्ट्रमध्ये अमेरिका र मेक्सिकोको क्वार्टरफाइनल पुग्ने सम्भावना कायमै छ।

अब मोरक्कोले सेमिफाइनल प्रवेशका लागि फ्रान्स र पाराग्वेबिचको विजेतासँग खेल्नेछ।