सामाजिक सञ्जाल टिकटकबाट प्रतिष्ठित व्यक्ति तथा संस्थाको चरित्र हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।
नेपाल प्रहरीको साइबर ब्युरोबाट खटिएको टोलीले खोटाङको हलेसी तुवाचुङ नगरपालिका–६ घर भई हाल भक्तपुर बस्दै आएकी ३१ वर्षीया रमा बस्नेतलाई नियन्त्रणमा लिएको हो ।
सामाजिक सञ्जाल प्रयोग गरी नियोजितरुपमा जातीय एवम् साम्प्रदायिक भावनामा खलल पुर्याएको उनीमाथि आरोप छ । ३१ वर्षीया बस्नेतलाई आज पक्राउ गरेर अदालतबाट ३ दिनको म्याद लिई अनुसन्धान थालिएको साइबर ब्युरोले जनाएको छ ।
ब्युरोका अनुसार बस्नेतले प्रतिष्ठित व्यक्ति र संस्थाविरुद्ध तथ्य र आधारहीन विषय उठान गरी टिकटकमा लगातार भिडियो हालेको गुनासोपछि अनुसन्धानका लागि नियन्त्रणमा लिनुपरेको हो ।
उनीविरुद्ध विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गतको कसुरमा अनुसन्धान भैरहेको जनाइएको छ ।
मूलधारका राजनीतिक दल र नेता-कार्यकर्तालाई तथानाम गाली गर्दै सामाजिक सञ्जाल रंग्याउने बस्नेत राष्ट्रिय स्वतन्त्र पार्टी र रवि लामिछानेको प्रशंसक रहेको बताइएको छ ।
उनको टिकटकमा प्रधानमन्त्री केपी शर्मा ओलीको विरोध अनि रवि र बालेनको समर्थनमा भिडिओ पोष्ट भएको देखिन्छ ।