चीनको सिन्जियाङ स्वायत्त क्षेत्र भ्रमणमा रहेका विदेशी पत्रकार तथा लेखकहरु स्थानीय समुदायको विवाह समारोहमा सहभागी भएका छन् ।
वेनछुवान काउन्टीको चालेमुटे टाउनसिपस्थित बोगदार टोल गाउँमा आयोजित विशेष समारोहमा उनीहरु निम्त्याइएका थिए ।
केही चिनियाँ पत्रकार र स्थानीयसमेत सहभागी कार्यक्रममा मंगोल समुदायले आफ्नो परम्पराअनुसार पाहुनाको सत्कार गरे । मंगोल जातिको बसोबास रहेको यो क्षेत्रमा हुने विवाहको झाँकी देखाइयो । बेहुला र बेहुलीका अभिभावक,आफन्त र साथीभाइ सरिक र परम्परागत तवरले छोटो समयमा सकाइएको नमूना विवाहपछि दुबै पक्षले नाचगान गरेका थिए ।
बेहुलीको घर पुगेका बेहुला पक्षले दुलहीका लागि ल्याइएको गहना र लत्ताकपडा उनका मातापितालाई देखाउने प्रचलन छ । त्यस्तै खसीको साँप्रो पनि ल्याउने चलन मंगोल जातिको विवाहमा रहेछ ।
दुलहीका मातापिताले ज्वाईंको हातमा छोरीको हात राखिदिएपछि दुलही आफ्नो घर जाने प्रचलन मंगोल जातिमा अध्यापि कायम छ ।
विवाहपश्चात् माइतीघर फर्केर नवदम्पतीले सबैको सामुन्ने विवाह बन्धनमा बाँधिएको बताउने,दुलहीका साथीहरुले दम्पतिलाई रातो कपडाले छेकेर नाचगान गर्ने प्रचलन प्रख्यात छ।
विवाह समारोहको प्रस्तुतिअघि नवनिर्मित बोगदाई टोल चिनियाँ भाषामा गाउँको उद्घाटन समारोहको झाँकी प्रस्तुत गरिएको थियो ।
त्यसपछि पाहुनाको स्वागत गर्दै चिनियाँ कम्युनिष्ट पार्टीको बोग्दार गाउँ कमिटी प्रमुख आइगुल जुमाताईले गाउँको विकासबारे जानकारी दिएकी थिइन् । परम्परागत तवरको स्वागतमा खादा पहिर्याएर चकलेट वर्षापछि स्थानीयले पाहुनालाई कलात्मक भाँडोमा राखिएको स्थानीय रक्सीको रसस्वादन गराई आत्मीयता बाँड्ने चलन छ ।