भारतको दिल्लीमा आज शनिबार ककरोच जनता पार्टी -सीजेपीले आयोजना गरेको विरोध प्रदर्शनका बिच पश्चिम बंगालका पूर्वमुख्यमन्त्री ममता बनर्जी, केरलाका पूर्वमुख्यमन्त्री पिनाराई विजयन र त्रिपुराका पूर्वमुख्यमन्त्री माणिक सरकारलाई पनि प्रहरीले पक्राउ गरेको छ।
तृणमूल कांग्रेस (टीएमसी) का प्रवक्ता साकेत गोखलेले सामाजिक सञ्जाल एक्समा पूर्वमुख्यमन्त्री ममता बनर्जीलाई दिल्ली प्रहरीले हिरासतमा लिएको बताएका छन्।
उनले लेखेका छन्, ‘ममता दिदीसहित हामी पाँच जनालाई दिल्ली प्रहरी र सीआरपीएफले दीदीको निवास बाहिरबाट हिरासतमा लिएर प्रहरी भ्यानमा राखेका छन्। हामीलाई अज्ञात स्थानमा लगिएको छ। यो भारतमा लोकतन्त्रको मृत्यु हो।’
पीटीआईका अनुसार तृणमूल प्रमुख ममता बनर्जी र पार्टीका अन्य नेताले साउथ एभिन्युको बस स्ट्यान्डमा विरोध प्रदर्शन गर्ने क्रममा दिल्ली प्रहरीले नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नुअघि ममता बनर्जीले भनेकी थिइनन्, ‘हामी जन्तर मन्तर जान चाहन्थ्यौँ, तर हामीलाई अनुमति दिइएन। यस्तो देखिन्छ-अवस्था संकटकालभन्दा पनि खराब छ।’
यसैबिच दिल्ली प्रहरीले आम आदमी पार्टीका प्रमुख अरविन्द केजरिवाललाई पनि पक्राउ गरेको बीबीसी हिन्दीले जनाएको छ।
यसअघि जन्तर मन्तरनजिकैबाट झन्डै हजार जना सीजेपी समर्थकलाई पक्राउ गरिसकिएको भारतीय अनलाइन दैनिक भास्करले जनाएको छ।
यस्तै सीजेपीका संस्थापक अभिजित दीपके, आशुतोष रान्का र सौरभ दासलाई दिल्ली विमानस्थलमा ओर्लिनेबित्तिकै पक्राउ गरिएको छ भने युट्युबर ध्रुव राठीलाई पनि उनको गुरुग्राम घरबाटै प्रहरीले हिरासतमा लिएको छ।
यस क्रममा केही पत्रकारलाई समेत प्रहरीले पक्रेको छ।
जन्तर मन्तर पुग्ने प्रयास गरिरहेका प्रदर्शनकारीलाई रोक्न ब्यारिकेड लगाइएको थियो। सवारीसाधन रोक्न सडकमा किला गाडिएका छन्। केही प्रदर्शनकारीले ब्यारिकेड पनि तोडेका छन्।
भारतका प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै ककरोच पार्टीले राजधानी दिल्लीका जन्तरमन्तर र कनट प्लेसमा बिहानैदेखि विरोध प्रदर्शन गरिरहेका छन्।
आन्दोलन थप चर्किंदै गएको छ। ठाउँठाउँमा प्रहरी र प्रदर्शनकारीबिच झडप भइरहेको भारतीय सञ्चार माध्यमले जनाएका छन्।
