मोरङको रतुवामाई नगरपालिका वडा नं.५ गोबिन्दपुरस्थित बक्रा खोला बगरबाट प्रहरीले ठूलो परिमाणको लागू औषध गाँजासहित दुई जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार २०८३ असोज २९ गते दिउँसो लुकाएर राखिएको अवस्थामा ८ वटा सेतो बोराभित्र रहेको २६४.५९ केजी बेवारिसे गाँजा बरामद गरिएको थियो।
सोही स्थानमा पुन: कारोबार हुनसक्ने सुचनाका आधारमा इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरीले गोली प्रहार गरेर २ जनालाई नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार, मध्यराति ११:२५ बजेको समयमा केही व्यक्तिहरू गाँजा लिई भारततर्फ जाँदै गरेको फेला परेको थियो।
उनीहरूलाई नियन्त्रणमा लिन खोज्दा भारततर्फ भाग्न खोजेपछि प्रहरीले साना हतियारबाट १ राउण्ड हवाई फायर गरेको जनाएको छ।
त्यसपछि पनि नियन्त्रणमा नआएपछि प्रहरीले पुन: १ राउण्ड फायर गर्दा एकजनालाई गोली लागेको छ।
भारत अररीया जिल्ला जोगबनी बस्ने ३९ वर्षीय प्रमोद चौधरीको घुडामुनि पिँडुलामा गोली लागी घाइते भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
गोली लागेर सामान्य घाइते भएका चौधरीसँगै भारत अररीया जिल्ला महगामा ग्राम पंचायत थाना ४ बस्ने ५० वर्षीय राजेन्द्र प्रसाद यादवलाई पनि करिब १०० के.जी. गाँजासहित नियन्त्रणमा लिइएको छ।
नियन्त्रणमा लिइएका दुवै जनालाई इलाका प्रहरी कार्यालय सिजुवामा राखी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।
