आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत ओमानमा जारी त्रिकोणात्मक सिरिजमा नेपाल क्यानडासँग २४ रनले पराजित भएको छ।
क्यानडाले दिएको २ सय ५७ रनको लक्ष्य पछ्याएको नेपाल ४६ ओभरमा २ सय ३२ रनमा अलआउट भयो। नेपालका लागि अर्जुन कुमालले ८७ रन बनाए पनि टोलीलाई जिताउन सकेनन्। आफ्नो सातौं खेलमा अर्जुनले पहिलो अर्धशतक पूरा गरे।
अर्जुनले १ सय १२ बलमा ४ चौका प्रहार गरे। आसिफ शेखले २१ बलमा २०, इशान पाण्डेले २९ बलमा २१ र रोहित पौडेलले २९ बलमा १८ रन बनाए।
दीपेन्द्रसिंह ऐरीले ३२ बलमा २७ तथा गुलशन झाले १९ बलमा २१ रन जोडे। करण केसी १४ बलमा १७ रन बनाउँदै अविजित रहे। बासिर अहमदले ६, सन्दीप लामिछानेले १ र नन्दन यादवले खाता खोल्न सकेनन्।
क्यानडाका लागि सुखजिन्दर सिंहले ३ तथा कलीम साना,शील पटेलले समान २ विकेट लिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले ५० ओभरमा सबै विकेट गुमाएर २ सय ५६ रन बनाएको थियो। क्यानडाका युवराज सामराले १ सय १७ बलमा ११ चौका र ४ छक्कासहित १ सय ५ रनको शतकीय इनिङ खेले।
आरोन जोन्सनले ३६, हर्ष ठाकरले ३४, कप्तान हम्जा तारिकले ३० र समीत गोहेलले १७ रन बनाए।
नेपालका लागि ललित राजवंशीले ४ विकेट लिए। सन्दीप लामिछानेले ३ तथा दीपेन्द्रसिंह ऐरीले २ र रोहित पौडेलले १ विकेट लिए।
आजको नतिजापछि क्यानाडा अंक तालिकाको छैटौं स्थानमा उक्लिएको छ। नेपाल भने सातौं स्थानमा झरेको छ। छैटौं स्थानमा लिग टुको अन्त्य गर्न नेपालले दुई दिनपछि आयोजक ओमानलाई हराउनुपर्ने हुन्छ ।
