दशैं बिदाको अघिल्लो दिन असोज ३० गते धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले नयाँ निर्देशन जारी गर्यो । त्यही दिनदेखि लागु हुने नियमले सेयर कारोबारमा बोर्डले कडाइ गरेको छ ।
बोर्डले सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धी निर्देशन, २०८३ जारी गर्दै सेयर बजारका सूचक संस्था धितोपत्र दलाल, मर्चेन्ट बैंकर, स्टक एक्सचेन्ज तथा अन्य मध्यस्थकर्ता र लगानीकर्ताहरूका लागि कडा व्यवस्थाहरू लागु गरेको हो।
के के छन् लागु भएको नयाँ व्यवस्थामा ?
निर्देशनमा धितोपत्र बजारमा एउटा सीमाभन्दा माथि कारोबार गर्ने लगानीकर्ताले सम्पत्तिको स्रोत स्रोत खुलाउनुपर्ने तथा शंकास्पद कारोबारको रिपोर्टिङ अनिवार्य गर्नेसम्बन्धी व्यवस्थाहरू रहेका छन् ।
१. १० लाख वा सोभन्दा बढीको कारोबारमा स्रोत र प्रतिवेदन अनिवार्य
कुनै पनि व्यक्ति वा कानुनी व्यक्तिले एकै पटक वा पटक पटक गरी एक दिनमा १० लाख रुपैयाँ वा सोभन्दा बढीको सेयर कारोबार गरेमा सूचक संस्थाले सो कारोबार भएको मितिले १५ दिनभित्र नेपाल राष्ट्र बैंकअन्तर्गतको वित्तीय जानकारी इकाई मा तोकिएको ढाँचामा अनिवार्य विवरण पठाउनुपर्ने व्यवस्था गरिएको छ । साथै, त्यस्ता ग्राहकको रकमको स्रोत खुलाएर अभिलेख राख्नुपर्नेछ ।
२. राष्ट्रिय परिचयपत्र र बायोमेट्रिक अनिवार्य
ग्राहक पहिचान गर्दा नेपाली नागरिकको हकमा राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखमा रहेको विवरणका आधारमा यकिन गरी अनिवार्य रूपमा सम्बन्ध स्थापना गर्नुपर्नेछ। खाता खोल्दा ग्राहकको ल्याप्चे वा विद्युतीय माध्यमबाट बायोमेट्रिक लिनुपर्नेछ । विद्युतीय माध्यमबाट खाता खोल्दा भौगोलिक स्थानसमेत यकिन गर्न सकिने व्यवस्था गरिएको छ ।
३. इन्भेस्टमेन्ट कम्पनीहरू बोर्डमा सूचीकृत हुनुपर्ने
धितोपत्रमा लगानी गर्ने उद्देश्यले स्थापना भएका ५ करोड रुपैयाँ वा सोभन्दा बढी चुक्ता पुँजी भएका वा वार्षिक १० करोड रुपैयाँभन्दा बढीको धितोपत्र कारोबार गर्ने इन्भेस्टमेन्ट कम्पनीहरू अनिवार्य रूपमा धितोपत्र बोर्डमा सूचीकृत हुनुपर्ने व्यवस्था गरेको छ ।
यस्ता कम्पनीहरूले आफ्ना सेयरधनीहरूको वास्तविक धनी पहिचान गर्नुपर्नेछ भने कम्पनीमा उच्च पदस्थ व्यक्तिको संलग्नता वा ऋण लगानी सम्बन्धी जोखिम मूल्याङ्कन प्रतिवेदन बोर्डमा पेस गर्नुपर्नेछ।
४. शंकास्पद कारोबार ३ दिनभित्रै प्रतिवेदन गर्नुपर्ने
सूचक संस्थाले अस्वाभाविक वा शंकास्पद कारोबार पहिचान भएमा तत्काल वित्तीय जानकारी इकाईमा प्रतिवेदन गर्नुपर्नेछ । कुनै ग्राहकले शंकास्पद कारोबार गर्ने प्रयास मात्रै गरे पनि सोको जाँचबुझ गरी ३ दिनभित्र वित्तीय जानकारी इकाईमा प्रतिवेदन पेस गर्नुपर्नेछ।
यदि ग्राहक पहिचान प्रक्रिया अघि बढाउँदा ग्राहकले शंका गरिएको भेउ पाउने देखिएमा प्रक्रिया रोकेर सिधै शंकास्पद कारोबार प्रतिवेदन पठाउनुपर्ने व्यवस्था छ ।
५.चेक र विद्युतीय माध्यमबाट मात्र भुक्तानी
धितोपत्र खरिद–बिक्री तथा अन्य कारोबारबापतको रकम भुक्तानी गर्दा अनिवार्य रूपमा एकाउन्ट पेयी चेक वा विद्युतीय माध्यमबाट मात्र गर्नुपर्नेछ । ग्राहकबाहेक असम्बन्धित तेस्रो व्यक्तिको खाताबाट रकम भुक्तानी लिन पाइने छैन, साथै, व्यावसायिक कारोबारको भुक्तानी व्यक्तिगत खातामार्फत गर्न पाइने छैन ।
६. उच्चपदस्थ व्यक्ति र वास्तविक धनीको कडा निगरानी
स्वदेशी तथा विदेशी उच्च पदस्थ व्यक्ति, उनीहरूका परिवार र नजिकका नातेदारहरूको पहिचानका लागि संयन्त्र बनाउनुपर्नेछ । पदबाट अवकाश पाएको वा कारोबार समाप्त भएको मितिले कम्तीमा १० वर्षसम्म उनीहरूको अभिलेख कायम राख्नुपर्नेछ । निर्देशन लागु भएको ६ महिनाभित्र सबै उच्च पदस्थ व्यक्तिको खातामा राष्ट्रिय परिचयपत्रको विवरण अद्यावधिक गरिसक्नुपर्नेछ ।
७. खास कारोबारमा विशेष निगरानी
नाबालकको नाममा दोस्रो बजारमा नियमित रूपमा हुने कारोबार, वास्तविक स्वामित्व परिवर्तन नहुने कारोबार, हकप्रदको हक हस्तान्तरणबाट भएका कारोबार र कारोबार प्रणालीबाहिर हुने बल्क कारोबारलाई विशेष ध्यान दिनुपर्ने खास कारोबारका रूपमा वर्गीकरण गरिएको छ।
८. कडा जरिवाना र कारबाहीको व्यवस्था
निर्देशनको प्रभावकारी कार्यान्वयन नगर्ने सूचक संस्था, सञ्चालक तथा पदाधिकारीलाई कसूरको गाम्भीर्यता हेरी १० लाख रुपैयाँदेखि ५ करोड रुपैयाँसम्म जरिवाना गर्न वा पदबाट हटाउन वा दुवै कारबाही गर्न सकिने कडा व्यवस्था गरिएको छ।
सम्हालिएको बजारमा बोर्डको लगाम
नयाँ सरकार गठन हुँदा गत चैतमा साढे २९ सयको हाराहारीमा रहेको सेयर बजार यो अवधिभर बियरिस ट्रेन्डमा रह्यो । तर, असोज मसान्तमा ब्याजदर र दशैंको ह्याङओभर सकिएपछि भने बजार सुधारको दिशामा अघि बढेको छ ।
बिदाअघि भएका सात कारोबार दिनमा बजार लगातार बढ्दै ६२ अंकको सुधार भएको थियो । पछिल्लो कारोबारका आधारमा बजार २६३४.१७ अंकमा रोकिएको छ । यस अनुसार अहिले कुल बजार पुँजीकरण ४५ खर्ब ३४ अर्ब रुपैयाँ कायम भएको छ ।
तर पछिल्लो कारोबार दिनहरू परम्परागत लगानीकर्ताका लागि सुखद् यसकारण भएको थियो कि यी दिनहरूमा बैंकिङ, विकास बैंक, निर्जीवन बीमा, अन्य समूह लगायत धेरै उतारचढाव नहुने समूहमा सुधार भएको थियो । खासगरी बैंकिङ समूहमा देखिएको सुधारले लगानीकर्ताहरूमा एउटा आशा पलाएको थियो ।
तर, अहिले आएको निर्देशनले सेयर बजारका लगानीकर्तामा फेरि निराशा उत्पन्न हुने अवस्था देखिएको छ । यो निर्देशनले असर गर्ने भन्दै सेयर बजारका विभिन्न समूहहरूमा चर्चा समेत भइरहेको छ ।
बोर्डले निर्देशिका बनाएको विषयलाई कुनै नयाँ वा असाधारण व्यवस्था ल्याउन लागेजस्तो गरी अनावश्यक हल्ला गर्नु उचित नभएको बहस चलेको छ । शेयर बजारको विकासका लागि यो आवश्यक पनि छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुन आजको कानुन नभएको र बोर्डको व्यवस्था समेत कठोर नभएका कारण लगानीकर्ता आत्तिनुपर्ने अवस्था नभएको छ ।
‘सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुनी व्यवस्था आज बनेको होइन, यो ऐन झन्डै दुई दशकअघि नै आएको हो। त्यही ऐनमा रहेको व्यवस्थालाई कार्यान्वयन गर्न बनाएको निर्देशिका नयाँ वा कठोर व्यवस्था पनि होइन,’ ‘त्यसैले निर्देशिकाको एउटा दफालाई मात्र अलग्याएर निष्कर्ष निकाल्नुभन्दा त्यसको कानुनी आधार र मूल ऐनमा रहेको व्यवस्था पनि सँगै हेर्न आवश्यक छ।’
अहिले नेपाल सम्पत्ति शुद्धीकरणको खैरो सूचीमा छ । आगामी फेब्रुअरीमा हुने प्लेनरी बैठकमा नेपालको अर्को मूल्यांक हुनेछ । त्यसका लागि पनि नेपालले सम्पत्ति शुद्धीकरणसम्बन्धी अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) औंल्याएका क्षेत्रमा सुधार गर्नुपर्ने आवश्यकता छ ।
यद्यपि बजारमा लागु भएको यो व्यवस्थाले लगानीकर्तामा मनोवैज्ञानिक दबाब भने पर्ने सम्भावना रहेको छ ।
बहसले निश्कर्ष सहित नयाँ बाटोको पनि पहिचान गर्नेमा दुइमत छैन ।
