पर्यटनमा विश्वास जगाउन मे २०२७ मा विश्व शान्ति पूजा

पछिल्लो समय हिमाली क्षेत्रमा भइरहेका दुर्घटना र प्राकृतिक विपद्ले पर्यटन क्षेत्रमा क्षति पुर्‍याइरहेका बेला पर्यटनमा विश्वास जगाउने र विपद् न्यूनीकरणको सन्देश विश्वभर फैलाउने उद्देश्यले मे २०२७ मा विश्व शान्ति पूजा आयोजना गरिने भएको छ ।

सोलुखुम्बुको त्याङ्बोचे, खुम्जुङ, लुक्ला र थुप्तेन छोलिङसँगै काठमाडौंमा शान्ति पूजा आयोजना गर्ने तयारी छ । यससँगै खुम्जुङमा वातावरण र पर्यटनसम्बन्धी अन्तर्राष्ट्रिय कार्यक्रम पनि सञ्चालन गरिनेछ ।

हिमाली क्षेत्रमा भइरहेका दुर्घटना र विपद्ले पर्यटन व्यवसायीको लगानी तथा पर्यटकको सुरक्षाप्रतिको विश्वासमा असर पारेको छ। देशमा शान्ति र विश्वासको वातावरण नबनेसम्म पर्यटनमा अपेक्षित सुधार र लगानी विस्तार कठिन हुने छ ।

‘सगरमाथा विश्वको सर्वोच्च शिखर र लुम्बिनी बुद्ध जन्मिएको पवित्र भूमि भएकाले नेपालबाट विश्व शान्ति र वातावरण संरक्षणको सन्देश दिन चाहन्छौं,’ ।

पछिल्लो समय नंगा पर्वत, हिम्लुङ हिमाल तथा भोटेकोसी क्षेत्रमा भएका घटनाले पर्वतीय पर्यटनमा संलग्न जनशक्ति र व्यवसायमा क्षति पुगेको छ । बुढीगण्डकी, मनाङ र मुस्ताङलगायत क्षेत्रमा भएका विपद्ले पनि पर्यटन क्षेत्रमा चिन्ता बढाएको छ ।

विश्वका विभिन्न देशबाट उच्च आध्यात्मिक गुरु, बौद्ध धर्मगुरु र उनीहरूका अनुयायीलाई कार्यक्रममा सहभागी गराउने आयोजकको तयारी छ ।

अमेरिकाको न्यूयोर्कबाट मात्रै करिब १० जना सहभागी आउने अपेक्षा गरिएको छ । भारत, भियतनामलगायत देशबाट पनि धर्मगुरु र अन्तर्राष्ट्रिय सहभागी आउने अपेक्षा गरिएको छ ।

विश्व शान्ति पूजासँगै खुम्जुङमा तीनदिने कार्यक्रम आयोजना गरिनेछ । त्यसअन्तर्गत एक दिन वातावरणसम्बन्धी अन्तर्राष्ट्रिय गोष्ठी, अर्को दिन खुम्बु क्षेत्रको पर्यटन विकास र त्यसलाई विशिष्ट गन्तव्यका रूपमा स्थापित गर्ने विषयमा छलफल तथा तेस्रो दिन स्थानीय तथा आदिवासी पर्यटनको अवधारणामा केन्द्रित कार्यक्रम सञ्चालन गर्ने योजना छ ।

कार्यक्रममा नेपाल सरकारका प्रतिनिधि तथा पर्यटन क्षेत्रका सरोकारवालालाई पनि आमन्त्रण गरिनेछ ।

पर्यटन विकास र वातावरण संरक्षणसम्बन्धी घोषणापत्र जारी गर्ने अपेक्षा गरिएको छ। यसबाट हिमाली क्षेत्रमा वातावरण संरक्षण, दिगो पर्यटन र विपद् न्यूनीकरणका विषयलाई अन्तर्राष्ट्रियस्तरमा उठाउन सहयोग पुग्ने आयोजकको विश्वास छ ।

चार स्थानमा हजारौं सहभागीको अपेक्षा

सोलुखुम्बुका चार स्थानमा हुने पूजामा हजारौं श्रद्धालु तथा पर्यटक सहभागी हुने अनुमान गरिएको छ । त्याङ्बोचेमा ८ देखि ९ हजार, खुम्जुङमा १५ देखि १६ हजार, लुक्लामा २० देखि २१ हजार र थुप्तेन छोलिङमा ७ देखि ८ हजार सहभागी आउने अपेक्षा गरिएको छ ।

काठमाडौंमा हुने कार्यक्रमको सहभागी संख्या भने व्यवस्थापन क्षमताका आधारमा तय गरिनेछ ।

आयोजक संस्था क्लाइमेट एलायन्स अफ हिमालयन कम्युनिटिजको सञ्जाल नेपालका २२ हिमाली जिल्लामा रहेको छ । यो संस्था संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचनाअन्तर्गतको माउन्टेन पार्टनर्स सञ्जालको सक्रिय सदस्य हो ।

विश्व शान्ति पूजालाई धार्मिक तथा आध्यात्मिक कार्यक्रमका रूपमा मात्र नभई पर्यटन प्रवद्र्धनको अवसरका रूपमा पनि उपयोग गर्ने आयोजकको योजना छ ।

यसअघि पोखरा र काठमाडौंमा भएका यस्तै कार्यक्रमले उल्लेख्य संख्यामा विदेशी अनुयायी तथा पर्यटक आकर्षित गरेको छ ।

सन् २००४ मा पोखरामा आयोजित कार्यक्रममा करिब ३६ हजार अनुयायी तथा पर्यटक सहभागी भएका थिए ।

सन् २०१६ मा पोखरामा आयोजित अर्को कार्यक्रममा करिब २४ हजार, सन् २०२२ मा काठमाडौंमा ५१ हजार र सन् २०२४ मा बौद्धमा १५ हजार सहभागी छ ।

अघिल्ला कार्यक्रमको अनुभवका आधारमा यसपटक पनि ठूलो संख्यामा विदेशी सहभागी आउने अपेक्षा गरिएको छ । तर, सहभागीको संख्या विगतका कार्यक्रमको अनुभव र धार्मिक सामग्री वितरणका आधारमा गरिएको अनुमान भएकाले वास्तविक उपस्थिति फरक हुन सक्नेछ ।

यसपटक अक्टोबरमा कार्यक्रम गर्ने प्रारम्भिक योजना भए पनि मुख्य पर्यटन सिजनसँग जुध्ने र व्यवस्थापनमा चुनौती हुन सक्ने भएकाले मे २०२७ का लागि सारिएको हो ।

विश्व शान्ति पूजामार्फत नेपाललाई शान्ति, आध्यात्मिकता, वातावरण संरक्षण र पर्वतीय पर्यटनको गन्तव्यका रूपमा अन्तर्राष्ट्रिय समुदायसमक्ष चिनाउने लक्ष्य राखिएको छ ।

धार्मिक कार्यक्रमबाट खुम्बु क्षेत्रमा पर्यटकको आगमन बढाउने, स्थानीय अर्थतन्त्रमा गतिविधि विस्तार गर्ने र हिमाली पर्यटनप्रति विश्वास अभिवृद्धि गर्ने अपेक्षा पनि गरिएको छ ।