नेपाल र भारतका प्रधानमन्त्रीद्धय बालेन र मोदीबिच भेटवार्ता

भारत भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह-बालेनले आज दिल्लीमा समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता भएको छ।

आइतबार दिल्ली पुगेका शाहले भारतीय समयअनुसार आज सोमबार बिहान ११ बजे भारतीय प्रधानमन्त्री मोदीसँग हैदराबाद हाउसमा भेटवार्ता भएको हो।

यसअघि हिजो आइतबार साँझ शाह र भारतीय विदेशमन्त्री एस जयशंकरबिच ताज होटलमा संक्षिप्त वार्ता भएको थियो।

आज मोदीसँग करिब आधा घण्टाको वार्तापछि दिउँसो १२:२५ बजे दुई प्रधानमन्त्रीबिच समझदारीपत्र आदानप्रदान तथा संयुक्त प्रेस वक्तव्य जारी गर्ने तालिका छ।

मोदीसँगको भेटमा नयाँ एयर रुटमा ‘ब्रेक थ्रु’ हुने प्रधानमन्त्री शाहको अपेक्षा छ ।

भारतीय पक्षसँगको छलफलमा नेपालले नयाँ ‘एयर रूट’ पाउनु पर्ने एजेण्डालाई ‘बटमलाइन’ बनाएको छ।

नेपालको प्रस्तावअनुसार नयाँ एयर रूट दिन भारत सहमत भएमात्रै यो भ्रमणमा ‘ब्रेक थ्रु’ भएको मानिने प्रधानमन्त्री शाहको टिमको भनाइ छ।

आइतबार साँझ नयाँ दिल्लीस्थित होटल ताज महलमा भारतीय विदेशमन्त्री एस जयशंकरले प्रधानमन्त्री शाहसँग शिष्टाचार भेटवार्ता गर्दा नेपाली टिमले नयाँ एयर रूटलाई ‘बटमलाइन’ बनाएको छ। जसमा विदेशमन्त्री जयशंकर सकारात्मक देखिएका छन्।

त्यसअघि आज बिहान १० बजे दिल्लीस्थित राष्ट्रपति भवनमा प्रधानमन्त्री शाहको औपचारिक स्वागत भयो।

समझदारीपत्रमा नेपाल र भारतबीच आर्थिक साझेदारी, यातायात सम्पर्क सञ्जाल (कनेक्टिभिटी), डिजिटल कनेक्टिभिटी, जलस्रोत, ऊर्जा, व्यापार, खेलकुद, शिक्षा, स्वास्थ्यलगायत विभिन्न क्षेत्रमा सहकार्य गर्ने विषय समेटिने अपेक्षा छ।

राष्ट्रपपति भवनमा स्वागतपछि आजै बिहान १०:४० बजे प्रधानमन्त्री शाहले महात्मा गान्धीको समाधिस्थल राजघाट पुगेर श्रद्धाञ्जली अर्पण गर्नेछन्।

प्रधानमन्त्री शाहले आज दिउँसो ३:१५ बजे राष्ट्रपति भवनमा भारतका राष्ट्रपति द्रौपदी मुर्मुसँग भेटवार्ता गर्ने कार्यक्रम पनि छ।

प्रधानमन्त्री शाहसँग मन्त्रीहरू, उच्च सरकारी अधिकारी, उद्योगी–व्यवसायी तथा पत्रकार पनि दिल्ली पुगेका छन्। प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछि शाहको यो पहिलो राजकीय भारत भ्रमण हो।

प्रधानमन्त्री शाह भ्रमण टोलीसहित सोमबार अपराह्न ४:५० बजे स्वदेश फर्किने तालिका छ।