बगेका मिडिया र हराएका पत्रकारप्रति सरकार किन मौन ?

प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा हाल साढे १८ अर्ब रुपैयाँभन्दा बढी रकम मौज्दात छ। तर, यही देशमा कर तिरेर राज्यलाई सघाउँदै आएका नौं वटा स्थानीय सञ्चार संस्थाहरू बाढीले बगाएर थला पर्दा र चार जना क्रियाशील पत्रकार बेपत्ता हुँदा सरकारको ढुकुटीबाट एक रुपैयाँ पनि प्रत्यक्ष राहत निकासा हुन सकेको छैन।

विपद्को झन्डै तीन महिना बितिसक्दा र हिउँदको कठ्याङ्ग्रिँदो चिसो सुरु भइसक्दा पनि भोटेकोशी–त्रिशूली करिडोरका पीडित सञ्चारकर्मी र ध्वस्त भएका मिडिया हाउसहरूको पीडामा राज्य अझै बेखबर जस्तै देखिएको छ।

गत २०८३ साल भदौ १० गते चीनको लेहेन्दे खोला हुँदै भोटेकोशी र त्रिशूलीमा उर्लिएको प्रलयकारी बाढीले भौतिक संरचना मात्र बगाएन, समाजलाई सुसूचित गर्ने र राज्यलाई निरन्तर खबरदारी गर्ने कैयौँ कलम र आवाजहरूलाई समेत निलेर गयो। सङ्कटको अग्रपङ्क्तिमा खटिएर अरूको उद्धारका लागि आवाज उठाउने पत्रकारहरू स्वयम् विस्थापित र शोकमा डुब्दा स्थानीय, प्रदेश र सङ्घीय—तीनै तहका सरकार रमिते बनेका छन्।

अस्ताएका कलमजीवी र सर्वस्व गुमाएका परिवारको छटपटी

प्रेस काउन्सिल नेपाल, नेपाल पत्रकार महासंघ र फ्रिडम फोरमले सार्वजनिक गरेका विवरणहरूले सञ्चार क्षेत्रमाथि आइलागेको यो भयावह क्षतिलाई छर्लङ्ग पारिसकेको छ। बाढीले चार जना क्रियाशील पत्रकार—नयाँ पत्रिकाका टेकराज (टेकबहादुर) थामी, पत्रकार शेखर ढुंगाना, नागरिक पोस्ट तथा महासंघ नुवाकोट शाखाका राजकुमार नेपाली, र शिलापत्र डटकमका प्रकाशक सुरेश सिम्खडालाई सदाका लागि बेपत्ता बनायो।

पत्रकार टेकराज थामीको त शवसमेत फेला नपरेपछि परिवारले कुशको शव बनाएर पशुपति आर्यघाटमा अन्त्येष्टि गर्नुपरेको कारुणिक दृश्यले सिङ्गो पत्रकारिता जगतलाई स्तब्ध बनाएको थियो।

फ्रिडम फोरमका अनुसार बाढीमा परी पत्रकारका करिब १४ जना पारिवारिक सदस्यहरू बेपत्ता भएका छन्। महासंघ रसुवा शाखाका सदस्य निराजन पौडेलले परिवारका सदस्य र घर दुवै गुमाउनुपरेको पीडा अझै आलै छ।

त्यस्तै, नुवाकोटको ढुंगेबजारस्थित ‘सुन्दरदेवी सन्देश साप्ताहिक’ को कार्यालय र प्रकाशकरसम्पादकको घर बाढीले बगाउँदा १३ वर्षदेखिको ऐतिहासिक अभिलेख, कम्प्युटर र छपाइ उपकरणसहित लाखौँको सम्पत्ति नामेट भयो। पत्रकार सन्नी श्रेष्ठलगायतका सञ्चारकर्मीहरूको घरसम्पत्ति र सवारीसाधन बगेपछि उनीहरू शून्यको अवस्थामा झरेका छन्।

बन्द भएको पत्रिका र नाजुक अवस्थामा चलिरहेका ८ रेडियो

प्रलयकारी बाढीले प्रभावित क्षेत्रका ९ वटा स्थानीय सञ्चार संस्थामा प्रत्यक्ष क्षति पु-याएको छ। कार्यालय र सम्पूर्ण उपकरण नै बाढीले बगाएपछि ‘सुन्दरदेवी सन्देश साप्ताहिक’ आजसम्म पनि पुनः प्रकाशनमा आउन सकेको छैन।

यता, नुवाकोट र रसुवाका आठवटा सामुदायिक रेडियोहरू—रेडियो चिम्टेश्वर, नुवाकोट एफएम, रेडियो त्रिशूली, गज्जब रेडियो, रेडियो रसुवा एफएम, जालपा रेडियो, रेडियो भैरवी र रेडियो लाङटाङ ले प्रसारण उपकरण, फाइबर अप्टिक तथा विद्युत् संरचनामा ठुलो क्षति बेहोरेका छन्। जेनतेन प्रसारण सुचारु गरे पनि यी रेडियोहरूको आर्थिक र प्राविधिक अवस्था अत्यन्तै नाजुक बनेको छ।

कर असुल्दा चिन्ने, विपद् पर्दा बिर्सने राज्य

सञ्चार संस्था सञ्चालन गरेबापत यी मिडियाहरूले स्थानीय तहदेखि सङ्घीय सरकारसम्म नियमित रूपमा आयकर, मूल्य अभिवृद्धि कर (भ्याट), रोयल्टी तथा दर्ता नवीकरण शुल्क बुझाउँदै राज्यको ढुकुटीमा योगदान पु¥याउँदै आएका थिए। तर, विपद्ले तिनै सञ्चार संस्थाको अस्तित्व सङ्कटमा पार्दा कर असुल्ने राज्यले भने तिनलाई चिन्नै छोडेको छ।

विपद्पछि नेपाल पत्रकार महासंघ र फ्रिडम फोरम जस्ता पेसागत सङ्घ–संस्थाहरूले आन्तरिक स्रोतबाट बेपत्ता तथा घर गुमाएका केही पत्रकार परिवारलाई जनही १ लाख रुपैयाँ राहत र ल्यापटप जस्ता सामान्य उपकरण उपलब्ध गराएर मानवीय संवेदना देखाए।

त्यस्तै, सञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले सञ्चार पुनस्र्थापना र राहतका लागि भन्दै १५ करोड रुपैयाँ सरकारी कोषमा जम्मा गरिसकेको छ। स्वदेश तथा विदेशका दाताहरूबाट रकम जुट्दै जाँदा हालसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा कुल १८ अर्ब ४७ करोड रुपैयाँ (करिब साढे १८ अर्ब) मौज्दात पुगिसकेको छ।

तर विडम्बना ! सरकारी कोषमा साढे १८ अर्ब रुपैयाँ थन्किरहँदा र दूरसञ्चार प्राधिकरणकै १५ करोड रुपैयाँ कोषमा दाखिला हुँदा पनि घरबार र उपकरण गुमाएका पत्रकार तथा राज्यलाई कर तिर्दै आएका ९ वटै सञ्चारगृहहरूको पुनस्र्थापनाका लागि राज्यबाट आजसम्म एक रुपैयाँ पनि प्रत्यक्ष राहत प्याकेज आउन सकेको छैन।

सरकारले बेपत्ताको मृत्युदर्ता गर्ने कानुन संशोधन गरे पनि पीडित पत्रकार र सञ्चारगृहको घाउमा मलम लगाउन पूर्णतः चुकेको छ। अझ स्थानीय, प्रदेश र सङ्घीय सरकारको ‘पीडित सूची’ मा सञ्चारगृहहरू नअटाउँदा दातृ निकाय र अन्य सङ्घ–संस्थाको सहयोगबाट समेत स्थानीय मिडियाहरू वञ्चित हुनुपरेको छ।

राज्यसँग सञ्चार जगतको स्पष्ट माग

जनताको आवाज बोल्ने सञ्चार संस्था र सञ्चारकर्मी नै असहाय बनेको यो घडीमा तीनै तहका सरकार र सञ्चार मन्त्रालयसँग पीडित पत्रकारहरूको स्पष्ट माग छ ः

१. विशेष पुनस्र्थापना प्याकेज र कर छुटः सरकारी राहत कोषमा थुप्रिएको साढे १८ अर्ब रुपैयाँ तथा दूरसञ्चार प्राधिकरणले सञ्चार क्षेत्रकै नाममा जम्मा गरेको १५ करोड रुपैयाँबाट तत्काल रकम परिचालन गरियोस्। बाढीले बगाएर बन्द अवस्थामा रहेको ‘सुन्दरदेवी सन्देश साप्ताहिक’ लाई पुनः सञ्चालनमा ल्याउन तथा नाजुक अवस्थामा चलिरहेका ८ वटै सामुदायिक रेडियोलाई पूर्ण क्षमतामा चलाउन आवश्यक उपकरण र कार्यालय पुनस्र्थापनाको विशेष प्याकेज उपलब्ध गराइयोस्। साथै, प्रभावित सञ्चार संस्थाहरूलाई कर, रोयल्टी र नवीकरण शुल्कमा विशेष छुट दिइयोस्।

२. आश्रित परिवारको जीविकोपार्जन र सहुलियत कर्जास् बाढीमा बेपत्ता भएका ४ जना पत्रकारका आश्रित परिवारको शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टी गरियोस्। घरसम्पत्ति गुमाएका पत्रकारहरूलाई आवास पुनर्निर्माणका लागि अनुदान तथा सहुलियतपूर्ण कर्जाको व्यवस्था मिलाइयोस्।

३. पीडित सूचीमा समान पहिचानस् स्थानीय तहदेखि सङ्घीय सरकारसम्मको वास्तविक पीडित सूचीमा प्रभावित सञ्चारकर्मी र सञ्चारगृहलाई समेत समावेश गरी सरकारी तथा गैरसरकारी राहतमा समान पहुँच सुनिश्चित गरियोस्।

निष्कर्ष

लोकतन्त्रको चौथो अङ्ग मानिने पत्रकारिता क्षेत्र विपद्को चपेटामा परेर थला पर्दा सरकार मौन बस्नु शोभनीय होइन। कर असुल्दा नागरिक र संस्था देख्ने राज्यले विपद् पर्दा आँखा चिम्लनु तथा कोषमा साढे १८ अर्ब रुपैयाँ थुपारेर वास्तविक पीडितलाई छटपटिन छोड्नु कदापि न्यायसङ्गत हुन सक्दैन।

अरूको आँसु पुछ्ने र अरूको न्यायका लागि लड्ने कलमजीवीहरूको आँसु पुछ्न राज्य कहिले अघि सर्छ ? बगेर बन्द भएको पत्रिका र थलिएका ८ वटै सामुदायिक रेडियोहरू कहिले पूर्ण क्षमतामा ब्युँतिन्छन् । नोटः यस लेखमा उल्लिखित बेपत्ता तथा प्रभावित सञ्चारकर्मी र क्षतिग्रस्त सञ्चार संस्थाहरूको विवरण प्रेस काउन्सिल नेपाल, नेपाल पत्रकार महासंघ तथा फ्रिडम फोरम लगायतका सञ्चारसम्बद्ध सङ्घ–संस्थाहरू तथा सरकारी निकायबाट सार्वजनिक गरिएका प्रारम्भिक तथ्याङ्क तथा प्रतिवेदनलाई आधार मानी तयार पारिएको हो।)

(लेखक अधिकारी ‘सुन्दरदेवी सन्देश साप्ताहिक’ का प्रकाशक तथा कार्यकारी सम्पादक एवं भोटेकोशी–त्रिशूली बाढी पीडित सरोकार समितिका सहसचिव हुन्। लेखक स्वयम् भोटेकोशी–त्रिशूली बाढीबाट पूर्ण रूपमा प्रभावित हुन्।)