भारतले नेपालको पुनर्निर्माण तथा दीर्घकालीन विकासका लागि २४ हजार करोड नेपाली रुपैयाँ बराबरको विकास सहयोग प्याकेज घोषणा गरेको छ ।
नयाँ दिल्लीमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा बोल्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त प्याकेजको घोषणा गरेका हुन् ।
गत अगस्टमा नेपालमा आएको विनाशकारी बाढीका कारण भएको मानवीय क्षतिप्रति गहिरो समवेदना व्यक्त गर्दै मोदीले नेपालको पुनर्निर्माण र दीर्घकालीन विकासलाई नयाँ ऊर्जा दिन यो सहयोग घोषणा गरिएको बताए । नेपाल र भारतबिचको सम्बन्ध केवल छिमेकीको मात्र नभई आत्मीयता र अटुट विश्वासको रहेको उनको भनाइ छ ।
‘नेपाल र भारतबीचको सम्बन्ध केवल छिमेकीको मात्र होइन, यो त आत्मीयता र अटुट विश्वासको सम्बन्ध हो । हाम्रो खुसी र चुनौती दुवै साझा छन्,’ भारतीय प्रधानमन्त्री मोदीले भने, ‘हामी एकअर्काको प्रगतिका साझेदार हौँ र कठिन समयमा एकअर्काको सहारा हौँ ।’
नेपाल–भारत सम्बन्ध साझा इतिहास, आस्था, संस्कृति र जनस्तरको गहिरो सम्बन्धले बुनिएको मोदीले उल्लेख गरे । भगवान् राम र माता सीता दुई देशको साझा सभ्यता र आस्थाको प्रतीक रहेको उनको भनाइ छ ।
यसैगरी, भारत वर्षौंदेखि नेपालका लागि पेट्रोलियम पदार्थ र अन्य अत्यावश्यक वस्तुहरूको भरपर्दो आपूर्तिकर्ता रहँदै आएको मोदीले बताए । ‘छिमेकी पहिले’ नीतिको मर्मअनुरूप यस वर्ष तेल आपूर्तिसँग सम्बन्धित गम्भीर चुनौतीहरूका बाबजुद भारतले नेपालमा इन्धन, रासायनिक मल र अन्य अत्यावश्यक वस्तुहरूको आपूर्ति निरन्तर कायम राखेको उनले स्पष्ट पारे ।
नयाँ सहकार्यबारे जानकारी दिँदै मोदीले नेपालमा स्टार्टअप इन्क्युबेटर, इनोभेसन हब तथा इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आईआईटी) को अफसोर क्याम्पस स्थापना गरिने घोषणा गरे ।
नेपाली विद्यार्थीका लागि भारतमा कानुन र प्रविधि विषयमा छात्रवृत्तिका अवसर बढाइने पनि उनले बताए । साथै, खाद्य प्रशोधन र मूल्य अभिवृद्धिलाई प्रवर्द्धन गर्न नेपालमा एग्रो–इन्डस्ट्रियल पार्क विकास गर्न भारतले सहयोग गर्ने मोदीको भनाइ छ ।
