किशोरी बलात्कार मुद्धामा माओवादी युवा कमाण्डर पक्राउ

नेकपा (माओवादी केन्द्र) को सहायक संगठन योङ्ग कम्युनिष्ट लिग (वाइसियल) का नेता रेशम क्षेत्री पक्राउ परेका छन् ।

रुकुम पश्चिमको चौरजहारी निवासी, वाइसियलका कर्णाली प्रदेश कमिटी सदस्य तथा चौरजहारी नगर कमिटी ईन्चार्ज रेशमलाई हिजो राती रुकुम पश्चिम प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार रेशमले ललाई फकाई जाजरकोटकी एक १७ वर्षीया किशोरीलाई २०७९ चैतमा चौरजहारीको एक होटेलमा लगेर बलात्कार गरेका थिए । पीडित किशोरीका अनुसार बलात्कारपछि छोरीको समेत जन्म भएको छ । उक्त बच्चा क्षेत्रीकै रहेको किशोरीको दावी छ ।

बलात्कारपछि पेटमा रहेको बच्चाको गर्भपतन गराउन खोजे पनि किशोरीले मानेकी थिइनन् । छोरीको जन्म भएपछि क्षेत्रीले सबै खर्च व्यवस्थापन गर्छु,पाल्छु, मुद्धा मामिला नगर भन्दै रोेकेका थिए । पीडितका अनुसार उनले माओवादी उच्च नेतासँग आफ्नो पहुँच रहेको,आफू उम्किन सक्ने भन्दै किशोरीलाई मुद्धा हाल्नबाट रोकेका थिए ।

माओवादी अध्यक्ष प्रचण्ड मध्यपहाडी लोकमार्ग अभियानको क्रममा रुकुम पश्चिम आउँदा पनि उनको सुरक्षार्थ परिचालित वाईसियल दस्ताको अग्रमोर्चामा उनी नै थिए । यसका साथै विभिन्न मेला, महोत्सव,पार्टीका जिल्लास्तरीय गतिविधिहरुमा उनको सक्रिय भूमिका रहने गरेको थियो ।

लामो समय माओवादीको आडमा पक्राउ नपरेका रेशम अन्तत: हिजो बिहिबार सानीभेरी गाउँपालिकास्थित एक होटेलबाट पक्राउ परेका हुन् । आजै अदालतबाट म्याद थप गरेर थप अनुसन्धान अगाडि बढाइने प्रहरीले जनाएको छ ।