रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको इस्युअर रेटिङ सुधार भएको छ । केयर रेटिङ्स नेपाल लिमिटेडले कम्पनीको रेटिङ ‘केयर–एनपी ट्रिपल बी प्लस आईएस बाट सुधार गरी ‘केयर–एनपी ए माइनस आईएस पुर्याएको हो ।
‘केयर–एनपी ए माइनस आईएस रेटिङ पाउने कम्पनीहरूलाई नेपालमा वित्तीय दायित्व समयमै पूरा गर्ने मामिलामा पर्याप्त सुरक्षा प्रदान गर्ने मानिन्छ । यस्ता कम्पनीहरूमा क्रेडिट जोखिम न्यून हुने मान्यता रहेको छ ।
रेटिङ्स कम्पनीका अनुसार रेटिङ सुधार हुनुमा रिलायबल नेपाल लाइफको सुदृढ प्रोफाइल, वित्तीय वर्ष २०८०/८१ मा सुधारिएको सॉल्भेन्सी अनुपात, व्यवसायको विस्तार, बीमा प्रिमियम संकलनमा आएको उल्लेखनीय वृद्धि, र सन् २०२४ तथा सन् २०२५ को पहिलो ९ महिनासम्मको अवधिमा कम्पनीको आम्दानी र नाफामा देखिएको सकारात्मक सुधार मुख्य कारक रहेका छन् । विशेषगरी कम्पनीको कम ल्याप्स अनुपात, कम कमिसन र खर्च अनुपात तथा लगानी आम्दानीमा देखिएको स्थिर वृद्धिले कम्पनीको नाफामा योगदान पुर्याएको छ । कम्पनीको व्यवस्थापन टोलीको अनुभव, लगानीको गुणस्तर, पर्याप्त पुनर्बीमा व्यवस्था तथा देशभर फैलिएको शाखा सञ्जाल पनि रेटिङ सुधारका सशक्त आधार मानिएका छन् ।
कम्पनीका अध्यक्ष उदय नेपाली श्रेष्ठको नेतृत्वमा सातजना सदस्य छन् । श्रेष्ठसँग डेढ दशकभन्दा बढीको वित्तीय तथा अन्य व्यवसायिक क्षेत्रमा अनुभव छ । कम्पनीको दैनिक सञ्चालन प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनीको नेतृत्वमा भइरहेको छ । लोहनीसँग वित्तीय क्षेत्रमा एक दशकभन्दा बढीको अनुभव रहेको छ भने उनलाई अन्य अनुभवी व्यवस्थापक टोलीले सघाउँदै आएको छ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी हरेक सूचकमा सकारात्मक रहेको छ ।
