त्रिभुवन विश्वविद्यालयको नयाँ उपकुलपतिका लागि ३ जनाको नाम सिफारिस भएको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त नेतृत्वको सिफारिस समितिले प्रा.डा. योगेन्द्रबहादुर गुरुङ, प्रा.डा. खड्ग केसी र प्रा.डा. विनिल अर्यालको नाम सिफारिस गरेर विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बुझाएको हो।
अब विश्वविद्यालयका कुलपति रहेका प्रधानमन्त्री ओलीले सिफारिस भएकामध्यबाट एक जनालाई उपकुलपतिमा नियुक्त गर्नेछन्।
तत्कालीन उपकुलपति केशरजंग बरालले कुलपति एवं प्रधानन्त्री ओलीबाट असहयोग भएको भन्दै गत चैत्र १५ गते राजीनामा दिएपछि उक्त पद रिक्त थियो।
नयाँ उपकुलपति नियुक्त नभएसम्मका लागि खड्ग केसीलाई उपकुलपतिको जिम्मेवारी दिइएको थियो।
सिफारिस समिति समक्ष १२ जना आकांक्षीहरूले बायोडेटा बुझाएका थिए।
जसमा सिफारिस भएका ३ जनाका अलवा मध्यपश्चिम विश्वविद्यालय पूर्वउपकुलपति उपेन्द्र कोइराला, मध्यपश्चिम विश्वविद्यालयका कै पूर्वउपकुलपति नन्दबहादुर सिंह, त्रिविका पूर्वरजिस्ट्रार डिल्ली उप्रेती र मदन भण्डारी विश्वविद्यालयका अध्यक्ष प्रा राजेन्द्रध्वज जोशी पनि प्रमुख आकांक्षी थिए।
