नेपाली कांग्रेस केन्द्रीय समितिले संविधान संशोधनका लागि पार्टी रहेको जनाएको छ । सोमबार सकिएको केन्द्रीय समिति बैठकले कांग्रेस र एमालेको सरकार गठन गर्दा गरिएको साँत बुँदेमा उल्लेखित संविधान संशोधनको पक्षमा पुन प्रतिबद्धता सहितको निर्णय गरेको छ ।
सात बुँदे सहमतिमा ‘संविधान प्रारम्भ पश्चात अभ्यासमा देखा परेका सबल पक्ष र दुर्बल पक्ष तथा जटिलताको समीक्षा गरी राजनीतिक स्थायित्वका लागि संविधानमा आवश्यक संशोधन र तदनुकुलको कानून निर्माण गर्ने विषयलाई प्राथमिकता दिने’ उल्लेख थियो । बैठकको निर्णयमा उल्लेख भएअनुसार, ‘नेपाली कांग्रेसको नेतृत्वमा बनेको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको रक्षा एवं कार्यान्वयन प्रमुख दायित्व र जिम्मेवारी हाम्रो नै हो भन्ने कुरामा नेपाली कांग्रेस स्पष्ट र पूर्ण प्रतिबद्ध छ ।’
साथै, संविधान संशोधन कार्य अघि बढाउन पार्टीबाट कार्यदल गठन गर्ने निर्णय समेत गरिएको छ । उक्त कार्यदलले पार्टीभित्र संविधान संशोधनका विषयमा छलफल चलाउने छ । संविधान निर्माणमा सहकार्य गरेका राजनीतिक दलहरू, संविधान निर्माणमा योगदान गर्नुभएका विज्ञहरू, विशेषज्ञ एवं सरोकारवाला नागरिक समाजसँग संवाद गर्नेछ ।’
