नेपाल–चीन सिमानाको ल्हेन्दे खोला (भोटेकोसी) मा सोमबार राति आएको बाढीमा परेर १८ जना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा तीन प्रहरी र ६ चिनियाँ नागरिक समेत रहेका रसुवाका जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ।
ल्हेन्दे खोलामा आएको बाढीमा फसेका नौ जनाको सकुशल उद्धार गरिएको छ। ११ जनाको उद्धार गर्न बाँकी रहेको छ ।
यसैबीच नेपाली सेनाको हेलिकोप्टर टिमुरेस्थित बाढीग्रस्त क्षेत्रमा पुगेर बाढीमा फसेकाहरुको उद्धार कार्यमा सक्रिय रहेको छ ।
ल्हेन्दे खोलामा आएको बाढीले नेपाल–चीन सिमामा रहेको मितेरी पुल पनि बगाएको छ। बाढीका कारण स्याँफ्रुबेँसी–रसुवागढी सडक ठाउँ ठाउँमा क्षति पुग्दा यातायात सेवा अवरुद्ध भएको छ।
बाढीले एक सय ११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको बाँधमा क्षति पुगेको छ भने टिमुरेस्थित भन्सार याड र त्यसभित्र रहेका मालवाहक ट्रकमा क्षति पुगेको प्रहरीले जनाएको छ।
क्षतिको पूर्ण विवरण आइनसकेको सशस्त्र प्रहरी बलका प्रहरी नायव उपरीक्षक रामहरि खड्काले जानकारी दिए।
रासस