ॐ असतो मा सद्गमय ।
तमसो मा ज्योतिर्गमय ।
मृत्योर्मा अमृतं गमय ।
ॐ शान्तिः शान्तिः शान्तिः ॥
हामीलाई असत्यबाट सत्यतर्फ, अन्धकारबाट उज्यालोतर्फ, र मृत्युतर्फबाट अमरत्वतर्फ लैजानुहोस्, हे प्रभु।
शान्ति, शान्ति, शान्ति।यस अर्थमा गुरु नै ती प्रकाश हुन् जसले हामीलाई जीवनका सत्य र शाश्वत मूल्यहरूको मार्ग देखाउँछन्।
गुरु पूर्णिमा हाम्रो संस्कृतिको त्यो उज्यालो पर्व हो, जहाँ हामी ज्ञानको आराधना र गुरुप्रति समर्पण प्रकट गर्छौं।
आज असार शुक्ल पूर्णिमा अर्थात् गुरु पूर्णिमा । यस दिन गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा प्रदान गर्ने गुरुजनप्रति सम्मान भाव प्रकट गरी मनाइन्छ ।
वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा वैदिककालदेखि नै मनाउने गरिएको व्यास जयन्तीलाई गुरु पूर्णिमाका रूपमा लिने गरिएको छ । वेदव्यासले वेदान्त, अठार पुराण, उपनिषद्लगायतका धार्मिकग्रन्थ लेखी हिन्दू संस्कृतिलाई ठूलो गुन लगाएको मानिन्छ ।
आफूलाई शिक्षा प्रदान गर्ने गुरुको सम्मानमा शिष्यहरूले विभिन्न मिष्ठान्न भोजनका साथ श्रद्धाभाव प्रकट गर्ने परम्परा रही आएको छ । गुरुलाई आमा–बुबा सरह सम्मान गर्ने प्रचलन छ ।
गुरु पूर्णिमाका दिन विभिन्न विद्यालय एवं संघसंस्थाले कार्यक्रम गरी शिक्षा, दीक्षा दिने गुरुप्रति श्रद्धाभाव प्रकट गरिन्छ ।
संस्कृतमा ‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ प्रकाश हुन्छ । यसरी ज्ञानरूपि प्रकाशले अज्ञानरूपि अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको जानकारहरु बताउँछन् ।
गुरु ब्रह्मा, गुरु विष्णु गुरु देवो महेश्वर,
गुरु साक्षात् परमं ब्रह्मा तस्मै श्री गुरुवे नम: