७७ जिल्लाका १६,१३७ विद्यार्थी काठमाडौं महानगरको छात्रवृत्ति प्रवेश परीक्षामा प्रतिस्पर्धी, १०९२ जनाको आवेदन अस्वीकृत

  • Clock icon
    २०८२ श्रावण २, शुक्रबार

काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८२/८३ का लागि कक्षा ११ र १२ मा छात्रवृत्तिमा अध्ययन गर्न इच्छुक विद्यार्थीका लागि सञ्चालन गर्न लागेको प्रवेश परीक्षामा देशभरका १६,१३७ जना विद्यार्थीले सहभागिता जनाउने भएका छन्।

महानगरले संस्थागत विद्यालयहरूमा छात्रवृत्तिका लागि आवेदन आह्वान गरेपछि देशका ७७ वटै जिल्लाबाट जम्मा १७,२२९ वटा आवेदन परेका थिए। तीमध्ये आवश्यक प्रमाणपत्र नजोडिएका १,०९२ आवेदनहरू अस्वीकृत गरिएको काठमाडौँ महानगरपालिका शिक्षा विभागका अधिकृत लक्ष्मी पौडेलले जानकारी दिइन्।

उनका अनुसार अस्वीकृत हुने आवेदकहरूले नागरिकता वा जन्म प्रमाणपत्र, सार्वजनिक विद्यालयमा अध्ययन गरेको प्रमाण, संस्थागत विद्यालयमा छात्रवृत्तिमा पढेको प्रमाण वा काठमाडौँ महानगरमा स्थायी बसोबास गरेको प्रमाण मध्ये कुनै एक वा बढी नजोडेकाले छनोटमा परेनन्।

शिक्षा विभागका अनुसार छनोटमा परेका विद्यार्थीहरूमध्ये ११,५९० जना विज्ञान संकाय, ४,१६४ जना व्यवस्थापन संकाय, ३२ जना मानविकी, ९५ जना शिक्षा र २५६ जना कानुन संकायका छन्।

प्रवेश परीक्षा आगामी साउन १८ गते (जुलाई ३) बिहान ८:०० बजेदेखि १०:०० बजेसम्म सञ्चालन हुने छ। परीक्षा कक्षा १० को पाठ्यक्रममा आधारित हुनेछ, जसमा कुल १०० बहुविकल्पीय प्रश्नहरू सोधिनेछन्। अनिवार्य गणित, विज्ञान र अंग्रेजी विषयबाट ३०/३० प्रश्न र सामान्य ज्ञानबाट १० प्रश्न समावेश गरिनेछ। परीक्षामा उत्तीर्ण हुन कम्तीमा ४० प्रतिशत अंक ल्याउनु पर्नेछ।

छात्रवृत्तिको लागि अन्तिम छनोट परीक्षा परिणाम सार्वजनिक भएपछि मेरिट लिस्टका आधारमा गरिने महानगरले जनाएको छ।

यस कार्यक्रममार्फत काठमाडौं महानगरले आर्थिक रुपमा कमजोर तर प्रतिभाशाली विद्यार्थीहरूलाई कक्षा ११ र १२ मा आफ्नो रोजाइको संस्थागत विद्यालयमा गुणस्तरीय शिक्षा प्राप्त गर्ने अवसर प्रदान गर्ने लक्ष्य राखेको छ।

  • Clock icon
    २०८२ श्रावण २, शुक्रबार