विपद् सङ्कटग्रस्त क्षेत्र मधेस प्रदेशका विभिन्न जिल्लामा चैत्र यता सिँचाइका लागि ३ सय वटा डिप बोरिङ खनिएको भए पनि प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको देखिएको छ।
विशेष गरेर सामुदायिक उपभोक्ता समितिमार्फत गरिएका काममा प्रभावकारिता र स्थायित्वको समस्या देखिएको हो। मधेस प्रदेशको स्थलगत अध्ययनमा रहेको अन्तरमन्त्रालय स्तरको अध्ययन कार्यदलले मुख्य सचिव एकनारायण अर्याललाई आइतबार प्रारम्भिक जानकारी गराउने क्रममा यस्तो बताएका हुन्।
त्यसैगरी विभिन्न स्थानमा सिँचाइ प्रयोजनका बोरिङ सञ्चालनमा प्रयोग भएका ५० वटा ट्रान्सफर्मर चोरी भएको पनि प्रारम्भिक अध्ययनमा देखिएको छ।केही स्थानमा भोल्टेजको स्थायित्व नभएका कारण प्रयोग हुन नसकेर सिँचाइ हुन नसकेको पनि टोलीले निष्कर्ष निकालेको छ।
मुख्यसचिव अर्यालले आज आफ्नै कार्यालयमा मधेस प्रदेशमा परिचालन भएको टोली सहित सबै मन्त्रालयका सचिवहरूसँग पछिल्लो अवस्था र अध्ययनको प्रारम्भिक जानकारीबारे छलफल गरेका छन्। छलफलपछि संक्षिप्त कुराकानी गर्दे उनले एकीकृत प्रतिवेदन प्राप्त भएपछि सरकार एक्सनमा जाने बताउनुभयो ।
सरकारले मधेस प्रदेशमा खडेरीका कारण देखापरेको समस्याको स्थलगत अध्ययन मन्त्रालयस्तरको प्राविधि टोलि खटाएको थियो। खानेपानी, उर्जा जलस्रोत तथा सिंचाई र कृषि तथा पशुपंक्षी मन्त्रालका सहसचिव सम्मिलित टोलि समस्याग्रस्त प्रदेशमा गई अध्ययन गरेर फर्किएको छ।
सो टोलीले आज मुख्य सचिवलाई स्थलगत अध्ययनको क्रममा देखिएका अवस्थाबारे मौखिक जानकारी गराएको छ। साथै मुख्यसचिवले सबै मन्त्रालयका सचिवहरूसंग पनि छलफल गरेका छन्।