आज साउन १६ गते, नेपालमा पहिलोपटक औपचारिक रूपमा ‘राष्ट्रिय कोदो दिवस २०८२’ मनाइँदैछ। सरकारले यस वर्षदेखि हरेक वर्ष साउन १६ गतेलाई ‘कोदो दिवस’को रूपमा मनाउने निर्णय गरेको हो, जसको मूल उद्देश्य कोदो बालीको संरक्षण, प्रवद्र्धन र उत्पादन वृद्धिमा सरकारी संलग्नता सुनिश्चित गर्नु हो।
यसअघि कृषि अभियन्ताहरूले साउन १५ गतेलाई अन्तर्राष्ट्रिय कोदो दिवसको रूपमा चिनाउँदै आएका थिए। अब भने राज्य स्तरबाटै दिवस मनाउन थालिएपछि रैथाने बालीको सम्मान र विकासप्रति नयाँ मोड लिएको देखिन्छ।
यस वर्षको मूल समारोह भक्तपुरको चाँगुनारायण नगरपालिका–९, ताथलीमा आयोजना गरिएको छ। ‘कोदोजन्य परिकारको आहारः खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा विभिन्न मन्त्रालय, स्थानीय तह, अन्तर्राष्ट्रिय संस्था, कृषक समूह र सञ्चारकर्मीहरूको सहभागिता रहेको छ।
कार्यक्रम कृषि तथा पशुपन्छी विकास मन्त्रालय, संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (FAO), चाँगुनारायण नगरपालिका, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र एसोसिएसन अफ नेपाली एग्रिकल्चरल जर्नलिस्ट्स (अनाज) को संयुक्त आयोजनामा सम्पन्न हुँदैछ।
कार्यक्रमको अध्यक्षता कृषि विभागका महानिर्देशक प्रकाश कुमार सञ्जेलले गरिरहेका छन् भने प्रमुख अतिथि कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी छन्। साथै FAO नेपालका प्रतिनिधि केन शिमिजु, कृषि सचिव, चाँगुनारायण नगरप्रमुख तथा अन्य पदाधिकारीहरू पनि उपस्थित छन्।
२०७७ सालदेखि अनाज र कृषक महासंघको पहलमा कोदो प्रवद्र्धन अभियान सुरु भएको हो। अनाजका अध्यक्ष किरण आचार्यका अनुसार टोखा क्षेत्रबाट सुरु भएको कोदो दिवस अभियानले आज राष्ट्रिय रूप लिएको छ। उनी भन्छन्, “राज्यले स्वामित्व लिएपछि अब बीउ, मलखाद, प्रविधि र मूल्य स्थिरता सुनिश्चित गर्न सरकार गम्भीर हुनुपर्छ।”
कृषक महासंघका अध्यक्ष पञ्चकाजी श्रेष्ठले कोदोमा पाइने प्रोटिन, फाइबर र एन्टिअक्सिडेन्टको कारण यो नसर्ने रोग न्यूनीकरणमा उपयोगी रहेको बताए। उनका अनुसार ग्रामीण क्षेत्रमा कोदोले वैकल्पिक आयको स्रोत लिन थालेको छ भने बजारमा माग उच्च हुँदै गएको छ।
तथ्यांक अनुसार कोदोको अवस्था
कृषि मन्त्रालयका अनुसार, आर्थिक वर्ष २०८०/८१ मा २,२४,९३५ हेक्टर क्षेत्रफलमा कोदो खेती भई ३,७३,२०० मेट्रिक टन उत्पादन भएको थियो। तर उत्पादकत्व अझै न्यून, प्रति हेक्टर १.३३ मेट्रिक टन मात्र रहेको देखिन्छ। विज्ञहरूका अनुसार सिँचाइ, उन्नत बीउ र प्रविधिको प्रयोग बढाएमा उत्पादन उल्लेखनीय रूपमा बढ्न सक्छ।
भन्सार विभागको तथ्यांकअनुसार, आर्थिक वर्ष २०८१/८२ मा नेपालले १८,३१६ मेट्रिक टन कोदाजन्य उत्पादन आयात गरेको छ जसको मूल्य करिब ७६ करोड ६३ लाख रुपैयाँ रहेको छ। तर, सोही अवधिमा ७० मेट्रिक टन मात्रै निर्यात भएको छ, जसले उत्पादनमा आत्मनिर्भरता अपरिहार्य बनाएको देखिन्छ।
रैथाने बालीका विज्ञ तथा दिवस संयोजक डा. रामकृष्ण श्रेष्ठले कोदो खाद्य सुरक्षाको आधार, पोषणको स्रोत र जलवायुअनुकूल टिकाउ बाली भएको भन्दै राज्यको हस्तक्षेपलाई ऐतिहासिक कदम माने। FAO नेपालका कार्यक्रम प्रमुख अरुण जिसीले कोदोलाई वातावरणमैत्री, जलवायु सहनशील र पोषणयुक्त बालीको रूपमा विकास गर्न आवश्यक रहेको बताए।
संवेदनशील स्वास्थ्य सन्दर्भमा कोदाको भूमिका
स्वास्थ्य मन्त्रालयका अनुसार, हाल देशमा अस्वस्थकर खानपान र जीवनशैलीका कारण गैर-संक्रामक रोगहरू तीव्र गतिमा फैलिरहेका छन्। यस्तो अवस्थामा कोदो जस्ता पौष्टिक बालीहरूको प्रयोगले दीर्घकालीन रूपमा जनस्वास्थ्यमा सुधार ल्याउने विश्वास लिइएको छ।
कार्यक्रममा उत्कृष्ट कोदो कृषक र कोदोसम्बन्धी सामग्री सम्प्रेषणमा योगदान पुर्याउने पत्रकारहरूलाई सम्मान गरिनेछ। गत वर्ष ६ जना पत्रकार पुरस्कृत भएका थिए। यस वर्ष पनि सातै प्रदेशबाट सहभागिता सुनिश्चित गरिएको छ।
प्रधानमन्त्री, कृषि मन्त्री र कृषि सचिवबाट कोदो दिवसको सन्दर्भमा विशेष सन्देशहरू पनि सार्वजनिक हुने छन्। यस कार्यक्रमले नीतिनिर्माता, कृषक, सञ्चारकर्मी, उपभोक्ता र अन्तर्राष्ट्रिय साझेदारलाई एउटै मञ्चमा ल्याउने विश्वास राखिएको छ।
देशभर विभिन्न ठाउँमा दिवस मनाउन विविध कार्यक्रम भइरहेको छ। लमजुङको सुन्दरबजारमा युवा नेपाल (वाईसिटी), खाद्यका लागि कृषि अभियान र सुन्दरबजार नगरपालिकाको सहकार्यमा दुईदिने विशेष कार्यक्रम सञ्चालन हुँदैछ। साथै, नेपाल उद्योग वाणिज्य महासंघ, रैथाने एग्रो, लिवर्ड लगायत संस्थाहरूले पनि दिवस मनाइरहेका छन्।