चक्रपथको दोस्रो खण्ड (कलंकी–चाबहिल) विस्तारमा ढिलाइ हुने देखिएको छ । १५ दिनदेखि चिनियाँ टोलीले यो खण्डको सर्भे गरिरहेको छ । सर्भे गर्न नै दुई महिना लाग्छ भनेका छन्,’ चक्रपथ विस्तार योजनाका प्रमुख कृष्णनाथ ओझाले बताउनुभयो, सर्भे सकिएपछि डिजाइनको काम अघि बढाउँछन् । ६ महिनाभित्र सर्भे र डिजाइन सक्ने उनीहरूको योजना छ । त्यसपछि उतै टेन्डर गरेर निर्माण कम्पनी छनोट गरी निर्माण प्रक्रिया बढाउँछन् ।’
डिजाइनपछि निर्माण कम्पनी छनोट गरी निर्माण प्रक्रिया अघि बढाउने तयारी रहेको उनले जानकारी दिए । उनका अनुसार चिनियाँ सरकारी कम्पनी सीसीसीसी फस्ट हाइवे कन्सल्टेन्ट्स र सिआन फाङ्झाउ इन्जिनियरिङ कन्सल्टिङ लिमिटेडका १८ जना प्राविधिक फिल्डमा खटिएका छन् ।
चक्रपथ दोस्रो खण्ड (कलंकी–चाबहिल खण्ड) विस्तार गर्ने भनिए पनि महाराजगञ्जमा जग्गा प्राप्तिमा समस्या भएपछि वसुन्धरा पुलसम्म मात्र विस्तारको तयारी भएको छ । सो सडकको दूरी ८.२ किलोमिटर छ ।
यस खण्डमा नेपाल सकारको तर्फबाट निर्माण गर्ने सर्भिस लेन निर्माण गरिसकेको छ ।
यो खण्ड ७ वर्षअघि विस्तार कार्य सुरु हुनुपर्ने हो । तर हालसम्म विस्तार नहुँदा सडक आसपासका बासिन्दाले निकै सास्ती खप्दै आएका छन् ।