काठमाडौँको नागढुंगा नजिकै आज विहिबार बिहान बस पल्टिँदा तीन जना यात्रु घाइते भएक छन्।
नागढुंगा-नौबिसे सडकखण्डमा पर्ने नाग मन्दिर नजिकै आज बिहान तीन बजेतिर दाङबाट काठमाडौँ आउँदै गरेको लुम्बिनी प्रदेश ०२–००१ ख ०१७७ नम्बरको बस पल्टिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
बस सडकबाट तल नालीमा खस्दा तीन जना घाइते भएका उनले बताए। उकालोमा ब्रेक नलागेर बस ब्याक भएर नालीमा खसेको हो।
घाइतेमध्ये रोल्पाको परिवर्तन गाउँपालिकाकी २५ वर्षीया रोशनी घर्तीमगरको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। उनलाई उपचारका लागि कलंकीको शहीद मेमोरियल अस्पतालमा भर्ना गरिएको छ।
‘पल्टिएको बसलाई क्रेनको सहायतामा हटाइसकिएको छ,’ प्रहरीले भनेको छ, ‘तर बस पल्टिँदा भएको सवारी साधनको जामको असर त्यस क्षेत्रमा अहिले पनि छ।’
धादिङको थाक्रेमा पनि पुलमा भ्वाङ परेपछि केही दिनदेखि सवारी साधन सञ्चालनमा समस्या हुँदै आएको थियो।