सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल सरकारले डिजिटल नेपाल फ्रेमवर्क (डिएनएफ) लाई उच्च प्राथमिकतामा राखेको दाबी गर्नुभएको छ ।
जापानको राजधानी टोकियोमा भएको एसिया–प्रशान्त दूरसञ्चार (एटीपी) २०२५ मन्त्रिस्तरीय बैठकलाई नेपालका तर्फबाट सम्बोधन गर्दै मन्त्री गुरुङले डिएनफको सफल कार्यान्वयनका लागि सूचना प्रविधिको पारिस्थितिक प्रणाली र अनुकूल वातावरणको तत्परता आवश्यक रहेको बताउनुभएको हो ।
नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले डिजिटल अर्थतन्त्र वृद्धिसँगै सुरक्षित, समावेशी र अवसरयुक्त डिजिटल युग निर्माण गर्न खोजिएको भनाइ राख्नुभयो ।
साथै, सुरक्षित र विश्वसनीय डिजिटल वातावरणको आजको आवश्यकता रहेकोमा जोड दिँदै नेपालमा डिएनएफले डिजिटल रूपान्तरणको लागि सुरक्षा र विश्वासलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गर्नुभएको मन्त्री गुरुङको सचिवालयले जनाएको छ।