वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो आज आइतबार देखाइने भएको छ । भोटो जात्राको अवसरमा आज सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।
आज आइतबार ललितपुरको जावलाखेल चोकमा राष्ट्रपतिको उपस्थितिमा भोटो देखाइने छ । भोटो हेर्नेको भिड देखिन्छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य कीर्तिमदन जोशीका अनुसार भोटो जात्रा सुरु भएको यकिन तिथिमिति अहिलेसम्म पत्ता लागेको छैन तर यो जात्राको परम्परासँग जोडिएको रोचक किंवदन्ती छ ।
किंवदन्तीअनुसार यो यात्रा सुरु भइसकेपछि नागराज कर्कोटककी रानीको आँखा दुख्यो । कर्कोटक वैद्यको खोजीमा लागे । खेतमा काम गरिरहेका किसानलाई वैद्य ठानी नागलोक अर्थात् टौदह लगे ।
डराएका किसानले मच्छेन्द्रनाथको प्रार्थना गरी हात माडेर मयललाई औषधिका रुपमा कर्कोटकलाई दिए । औषधिले रानीको आँखा दुख्ने रोग निको भयो । पुरस्कारस्वरुप मणि माणिक्यले युक्त भोटो किसानलाई दिएर मनुष्यलोकमा फर्काइयो । किसानले भोटो खेतको डिलमा राखेर काम गर्न थाले ।
मनुष्यरुपी भूत आएर भोटो लग्यो । किसानले खोजे, पाएनन् । मच्छेन्द्रनाथको जात्रा हेर्न जाँदा आफूले पुरस्कारस्वरुप पाएको भोटो मनुष्यका रूपमा आएको भूतले लगाएको देखेर किसानले दाबी गरे । भूतले दिन नमानेपछि विवाद भयो ।
कर्कोटक नागलाई समेत बोलाएर सोधखोज गरियो । अन्तिममा भोटोको अधिकारी दुवै हुन नसक्ने निष्कर्ष निकाली मच्छेन्द्रनाथको जिम्मा लगाइयो ।
आधिकारिक प्रमाणसहित आउनेलाई भोटो दिन रातो मच्छेन्द्रनाथको रथ यात्रा सकेपछि भोटो जात्रा गर्ने परम्परा बस्यो । त्यो वर्षदेखि प्रत्येक साल साइत हेरेर भोटो देखाउने गरिएको जनविश्वास छ । अहिलेसम्म कसैले प्रमाण जुटाएर भोटो लैजान नसकेको किंवदन्ती छ ।