दरबार हत्याकाण्ड निधन भएका राजपरिवारहरूको सम्झनामा हिमानी ट्रस्टले आगामी जेठ १९ गते नारायणहिटी दरबारमा दीप प्रज्वलन गर्ने भएको छ । चतुरव्युह नारायण मन्दिरमा दीप प्रज्वलनको कार्यक्रम राखिएको छ ।
२०५८ जेठ १९ गते नारायणहिटी दरबारभित्र एक रात्रीभोजका क्रममा गोली चलेर तत्कालीन राजा वीरेन्द्र वीर विक्रम शाहको वंश विनाश भएको थियो । अहिलेसम्म पनि उक्त हत्याकाण्डको विश्वसनीय छानबिन हुन सकेको छैन । वीरेन्द्रको शेखपछि राजा भनेका भाइ ज्ञानेन्द्रको शासनकाल लामो हुन सकेन ।
२०६२-६३ मा भएको आन्दोलनले राजतन्त्रको अन्त्यपछि उनले नारायणहिटी दरबार छोड्नु परेको थियो । राजा ज्ञानेन्द्रकी आमा रत्न राज्यलक्ष्मी शाह भने अहिलेसम्म नारायणहिटीभित्रै बसोबास छ। वयोवृद्ध उमेरका कारण उनलाई नारायणहिटी छोड्न बाध्य नपारेर यहीँभित्रको महेन्द्र मन्जिलमा बस्ने व्यवस्था मिलाइएको थियो ।
नारायणहिटी परिसरभित्रै रहेको यो मन्दिरलाई एउटा पर्खालले दरबारबाट छुट्याएको छ ।
ट्रस्टद्धारा जारी गरिएको सूचनामा भनिएको छ, ‘स्वर्गीय श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेव एवं स्वर्गीय श्री ५ बडामहारानी ऐश्वर्य राज्य लक्ष्मीदेवी शाह लगायत सम्पूर्ण दिवङ्गत शाही परिवारका सदस्यहरूको आत्माको चिर शान्तिको कामना हेतु श्रद्धाञ्जली टक्र्याउन सहभागी भइदिनु हुन हार्दिक अनुरोध गर्दछौँ ।’
श्री चतुर्व्युह नारायण धाम परिसरमा बेलुका ६ः३० मा दीप प्रज्वलन गरिने सूचनामा उल्लेख छ ।राजावादी आन्दोलन चर्किएको बेला हिमानी ट्रस्टले नारायणहिटी दरबारभित्रै कार्यक्रम राख्नुलाई अर्थपूर्ण रुपमा हेर्न सकिन्छ

 
                         
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
                                             
                             
                            
                         
                             
                                                     
                            
 
                             
                             
         
         
         
         
         
         
                             
                             
                            