खेल पत्रकार हिमेशरत्न वज्राचार्यले लेखेको पुस्तक ‘स्वर्णकथा नेपाली फुटबलको’ विमोचन भएको छ ।
नेपाली फुटबलको सफल इतिहासलाई समेटिएको सो पुस्तक आइतवार नेपाली फुटबलका हस्ती राजुकाजी शाक्यले विमोचन गरे ।
नेपालले तत्कालीन दक्षिण एसियाली महासंघीय खेलकुद ९साफ० हालको दक्षिण एसियाली खेलकुद (साग) को पहिलो (सन् १९८४) र छैटौं (१९९३) संस्करणमा फुटबलमा स्वर्ण पदक जितेको थियो ।
ती दुवै स्वर्ण पदक जित्दाका २ खेलाडी मध्येका एक हुन् शाक्य । अर्का सदस्य उमेश प्रधान अमेरिकामा बस्छन् । शाक्य छैटौं संस्करणमा टोलीको कप्तान नै थिए ।
तीनै दुई संस्करणको स्वर्ण पदक जित्दाको विषयलाई समावेश गर्दै वज्राचार्यले स्वर्णकथा नेपाली फुटबलको लेखेका हुन् ।
फुटबल इतिहासमा नेपालले जितेको त्यो दुई महत्वपूर्ण उपाधि हुन् । सागको नवौं संस्करणबाट यु २३ टोलीले यसमा प्रतिस्पर्धा गर्छ । नेपाल १२ औं र १३ औं संस्करणको पनि विजेता हो। युवा टोलीले १२ औं सागमा स्वर्ण पदक जित्दा शाक्य त्यसको प्रशिक्षक थिए।
नेपाली फुटबलको इतिहास करिब एक सय वर्ष लामो भएपनि अहिलेसम्म फुटबलको इतिहासबारे कुनै पुस्तक लेखिएको थिएन । त्यसैले नेपाली फुटबलको इतिहासमा लेखिएको यो नै पहिलो पुस्तक हो ।
लेखक वज्राचार्यले यो पुस्तक प्रकाशित गर्नु आफ्नो सपना भएको र सपना पूरा भएको बताएका छन् । कान्तिपुर दैनिकमा आबद्ध खेल पत्रकार वज्राचार्य दुई दशक भन्दा लामो समयदेखि फुटबल रिपोर्टिङ गर्दै आएका छन्।
बुकहिलले प्रकाशन गरेको सो पुस्तकको आइतवारबाट विक्री पनि सुरु भएको छ।