गृहमन्त्री रमेश लेखकले सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय, हल्चोक पुगेर विपद् व्यवस्थापनको पूर्वतयारी तथा प्रतिकार्यको कार्ययोजनाबारे ब्रिफिङ लिनुभएको छ ।
सो क्रममा संक्षिप्त मन्तव्य राख्दै मन्त्री लेखकले जल तथा मौसम विज्ञान विभागले यस वर्ष सरदरभन्दा बढी वर्षा हुने आकलन गरेकाले विपद्का घटना बढ्न सक्ने सम्भावनातर्फ सजग गराउनुभएको हो ।
उहाँले सशस्त्र प्रहरी बल, नेपाललाई सबैखालका जोखिमका लागि तयारी अवस्थामा रहन निर्देशन दिनुभएको सशस्त्र प्रहरीले जनाएको छ ।
गृहमन्त्री लेखकले सशस्त्र प्रहरी बल विपद् व्यवस्थापनमा विज्ञ संगठन पनि भएकोले समयमै उद्धार गरेर मानिसको जीवन जोगाउने दायित्वमा अग्रपंक्तिमा रहनुपर्ने उल्लेख गर्नुभयो ।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका सन्दर्भमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँग नजिकको समन्वयमा रहन पनि लेखकको सुझाव छ ।