अलराउन्डर करण केसीको उत्कृष्ट ब्याटिङको मद्दतमा नेपालले आईसीसी विश्वकप लिग २ अन्तर्गत भएकोत्रिकोणात्मक सिरिजको पहिलो खेलमारोमाञ्चक जित निकालेको छ । गएराति सम्पन्न खेलमा नेपालले घरेलु टोली स्कटल्याण्डलाई एक विकेटले हराएको हो ।
जितको लागिदुई सय ९७ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४९.५ ओभरमा नौ विकेट गुमाएर पूरा गरेको हो । नेपालको जितमा करण केसीले ४१ बलमा तीन चौका र चार छक्काको सहयोगमा अविजित सर्वाधिक ६५ रन जोडे । यस्तै ओपनर कुशल भुर्तेलले ४४ बलमा ११ चौकाको सहयोगमा ५३ रन जोड्दै अर्धशतक बनाए ।
कुशलले अर्का ओपनर आसिफ शेखसँग मिलेर पहिलो विकेटका लागि ७२ रनको साझेदारी गरेका थिए आसिफ ३३ बलमा दुई चौकाको सहयोगमा २० रनमा आउट भए ।गुलशन झा ३० बलमा तीन चौका र तीन छक्काको सहयोगमा ४२ रन बनाएर पभिलियन फर्किँदा भीम सार्कीले ४८ बलमा तीन चौकाको सहयोगमा ४० बनाए । कप्तान रोहितकुमार पौडेलले ५६ बलमा ३७ रनको योगदान गरे ।
स्कटल्याण्डका लागि ब्रेण्डन मक्कमलानले तीन, माइकल लिस्क र ज्याक जार्भिसले समान दुई र जसपर डेभिडसनले एक विकेट लिए ।
यसअघि स्कटल्याण्डको फोर्थहिल क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको स्कटल्याण्डले निर्धारित ५० ओभरमा सात विकेट गुमाएर दुई सय ९६ रन बनाएको थियो ।
स्कटल्याण्डका लागि चाल्र्स टेयर्सले सर्वाधिक ८० रन जोडे । उनले ७२ बलमा १२ चौका र एक छक्का प्रहार गरे । यस्तै फेन्ली म्याक्रिथले ५५ रन,कप्तान रिची बेरिङ्टनले ४०, म्याथ्यु क्रसले ३९ र माइकल लिस्क १८ रन जोड्दै आउट भए । ब्रेण्डन मक्कमुलनले ३१ बलमा दुई चौकाको सहयोगमा १९ रन जोड्दा ओपनर जर्ज मुन्सी १२ रनमा आउट भए ।
नेपालका लागि सोमपाल कामी, करण केसी र रिजन ढकालले समान दुई र सन्दीप लामिछानेले एक विकेट लिए । अब नेपालले दोस्रो खेल भोलि नेदरल्यान्डससँग खेल्नेछ ।