प्रधानमन्त्री केपी शर्मा ओलीका निजी चिकित्सक दिव्यासिंह शाहका पिता केही दिनअघि बिरामी पर्नुभयो । उमेरले ९० वर्ष कटिसक्नुभएका सर्वोच्च अदालतका पूर्व न्यायाधीश टोपबहादुर सिंह पूर्व न्यायाधीश फोरमको अध्यक्ष पनि हुनुहुन्छ । उहाँ एक्कासी बिरामी परेपछि बालुवाटारतिरको रात्रिभोज र गफगाफका कुरा बाहिरिएको बताइन्छ ।
इन्टरनल मेडिसिन तथा नेफ्रोलोजिष्ट विज्ञ डा.शाहलाई यसअघि पनि प्रधानमन्त्री हुँदा प्रधानमन्त्री ओलीले २०७७ असार ४ मा त्रिभुवन विश्वविद्यालय,चिकित्सा शास्त्र अध्ययन संस्थान महाराजगञ्जको डिनमा नियुक्त गर्नुभएको थियो ।
डिनको जिम्मेवारीमा शाह साढे चार वर्ष अर्थात २०८१ मंसिर ३० सम्म रहेको देखिन्छ ।
पिता सिंहले केही साताअघि न्यायपालिकाको नेतृत्वबारे आलोचना गरेको खबर बाहिरियो । जबकि हालका प्रधानन्यायाधीशको सिफारिसअघि उनै शाहले बालुवाटारसम्म कुरा पुर्याइदिएको भन्नेहरु प्रधानमन्त्रीकै सचिवालयमा छन् ।
केही दिनअघि सिंहसहित अरू पूर्व न्यायाधीश र शाही शासनकालका अस्थायी न्यायाधीश पवन ओझासहित प्रधानमन्त्री निवाससँगैको अर्को निवासमा रात्रि जमघटमा जुटेको प्रधानमन्त्री निवास स्रोतको दावी छ ।
राति अबेरसम्म खानपिनमा सरिक ९१ वर्षे सिंह भोलिपल्ट बिरामी परेपछि चिकित्सक छोरीले उपचार गर्न लगेको बखत बालुवाटारको उच्चस्तरीय भेटघाटको रहस्य खुलेको बताइन्छ ।
वयोवृद्ध अभिभावक बिरामी परेपछि छोराछोरी,त्यसमा पनि प्रधानमन्त्रीको निजी चिकित्सक रहेकी छोरीले भेटघाटको विषय र खानपिनबारे सोधखोज गर्नु अस्वाभाविक भएन । रात्रि जमघटमा बूढो मान्छेलाई अबेरसम्म राखिएपछि बिरामी परेको चिकित्सकहरुको निश्कर्ष थियो ।
पछिल्लो समय अर्का पूर्व न्यायाधीशले पनि आफ्ना लेखहरुमा सर्वोच्च नेतृत्वको आलोचना गर्दै आइरहेका छन् । त्यसदिनको रात्रि जमघटमा सहभागी अर्का न्यायधिशले शाही आयोगविरुद्ध परेको मुद्दाबारे सर्वोच्चमा बहस गर्ने क्रममा ‘राजालाई विष्णु भगवानको अवतार मानिन्छ ।
त्यसैले देवताले बोलेको र गरेको कुरा कानुनभन्दा माथि हुन्छ’ भनेका थिए ।
सोही कारण उनलाई पछि सरकारले अस्थायी न्यायाधीशबाटै घर पठाइदियो । अर्का न्यायधिश पूर्व राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालका महान्यायाधिवक्ता हुन् ।