सामाजिक कथामा निर्माणाधीन फिल्म जनै हराएको बाहुन : सम्बन्धका धागाहरूको नाम परिवर्तन गरी जनै हराएको मान्छे : सम्बन्धका धागाहरू नामकरण गरिएको छ ।
हिन्दु धर्मसँग सम्बन्धित केही व्यक्ति र संस्थाले नाममा चासो देखाएपछि मुख्य पात्रको क्यारेक्टर पोस्टर सार्वजनिक गर्दै फिल्मको नाम परिवर्तन गरिएको हो ।
फिल्मको क्यारेक्टर पोस्टरमा मुख्य पात्र विजय बराल छन् । रातो सटमा दुई झोला बोकेर घरबाट निस्किन लागेका उनलाई आमाले रातो टीका लगाइदिएर घरबाट निस्किने बेलामा आशीर्वाद दिएको देखिन्छ।
उनको निन्याउरो अनुहारले घरपरिवार र आफन्तसँग छुट्नुपर्दाको पीडा देखाउँछ ।
काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेमा छायांकन गरिएको फिल्म हाल पोस्टप्रोडक्सनको टेबुलमा छ । निर्देशक हिमाल न्यौपानेले फिल्ममा आमा र छोराबीचको भावनात्मक कथा भन्ने प्रयास गरेका छन् ।
अभिनेता विजय बरालका साथमा केकी अधिकारी, मिरुना मगर, गौरव पहाडी, सुशांक मैनाली, भोलाराज सापकोटा, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापालगायतले अभिनय गरेको फिल्ममा प्रेमगीत ३ का अभिनेता मनिष राउत असोसियट निर्देशक छन्।
पेपरक्लिपको ब्यानरमा कमल न्यौपाने र विमल न्यौपानेद्वारा निर्माणाधीन फिल्ममा भानुभक्त ढकालको कथा, पटकथा र संवाद, थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रसान्त सिवाकोटीको संगीत, नवीन गुरुङ डीओपी र कृष्ण परियारको सिनेमेटोग्राफी रहेको छ ।
आरके मानन्धर, रुपेश लामा, सिआर बस्नेत, नारायण तिमिसिना र चुडामणि सिवाकोटी सह निर्माता रहेको फिल्म आगामी भाद्र ६ मा रिलिजमा आउनेछ ।