सेनाको हेलिकप्टर अभावले असर नेता कि जनसेवामा ?

प्राकृतिक विपत्ति हुन् कि, भिभिआइपीका नाममा हुने उडान र आपतकालीन सहायता नै किन नहुन्, नेपाली सेनाको हेलिकप्टर पहिलो रोजाइमा पर्छन् । नेतालाई सेनाका हेलिकप्टरमै सयर गर्न सुरक्षित लाग्छ ।

छोटो दूरीमासमेत नेतालाई सेनाकै हेलिकप्टर नचढी हुँदैन । तर लामो समयदेखि सेनाले हेलिकोप्टरको अभाव झेलिरहँदा भरपर्दो समन्वय गरिदिने भने कोही देखिएनन् ।

वर्षामा उत्पात हुने संकेत आइरहेका बेला नेपाली सेना राहत र उद्दारमा यसपटक पनि चुक्ने खतरा छ । ठूलो हेलिकोप्टर ग्राउण्डेड र दुईवटा एनए ५६ र ५७ भारतमा गएर फसेपछि नेपाली सेनाले फेरि पनि ठूलै अभाव झेल्नुपर्नेछ ।

विपतको अग्रमोर्चामा खटिनु र जतिखेर पनि अलर्टमा बस्नुपर्ने सेना हेलिकप्टरविहीन हुँदा उत्साहको मुड नभएको सेनाले जनाएको छ ।

‘ग्राउण्डेडबाहेक दुईवटा हेलिकप्टर भारतमा छन् । पैसा पनि फस्यो, समात्न उतै बस्यो,’ सैनिक स्रोत भन्छ, ‘४८ करोड लिएर गयो, कसैले कुरा उठाउँदैन । दोषीलाई कारवाही गर्ने कुरै छैन । किनकि सबैजना फस्ने स्थिति छ ।

अमेरिकामा ट्रम्पको पुनरोदयपछि सबै हायलकायल छन् । अमेरिकाले इरानबाट तेल किन्ने सबैलाई कारवाही गर्छु भन्न थालिसक्यो । रसियासँग कारोबार गरेको भनेर भारतका १३ देखि १५ वटा कम्पनी कारवाहीमा परेका छन् । पहिले गरेका कारोबार कोट्याएर अमेरिकाले खोतलीखोतली कारवाही गरिरहेको छ । त्यसकारण अहिले केही नहुने सेना बताउँछ ।

अप्ठ्यारो स्थितिमा सरकारले प्रभावकारी समन्वय गर्न नसक्दा पनि उत्तिकै झमेला ब्यहोर्न सैनिक अधिकारीहरू बाध्य छन् । भएकालाई कमिशनको लोभमा बिगार्ने र सडाउने तर नयाँ ल्याउने तयारी छैन । जसले गर्दा ओली सरकारको भविष्यलाई लिएर सेनाभित्रसमेत कुराकानी बढी नै हुन थालेको छ ।

‘अमेरिकाले दिन्छु भनेका हेलिकोप्टर र जहाज पनि दिएन । ट्रम्प आएपछि त सबै क्यान्सिल भयो । एमसिसी नै रद्द गरिसक्यो, हेलिकोप्टर त झन् के देला र ? जंगी अड्डा कार्यालयले भन्छ । डढेलो निभाउने संयन्त्रसमेत सेनासँग छैन । ड्रोन, फायरफाइटर पनि छैन । दुई तीन वर्षअगाडि ठूलो डढेलो लाग्दा फायर फाइटर किन्ने कुरा आएको थियो तर कुरा मात्रै ठूलो भएको नेपाली सेना कार्यालय बताउँछ ।

खासगरी रक्षा मन्त्रालयले पहल नगर्दा सेना आजित भएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलोपटक जुनियर नेतालाई रक्षा मन्त्री बनाएकाले पनि सेनाको समस्या र समाधानतर्फको बाटो नदेखिएको हो ।