प्रधानमन्त्री केपी शर्मा ओली राजर्षिजनक विश्वविद्यालयको पहिलो दीक्षान्त समारोहमा सहभागी हुन आज मंगलबार जनकपुर जाँदै हुनुहुन्छ ।
उक्त विश्वविद्यालयका कुलपतिसमेत रहनुभएका ओली जनकपुरधामस्थित महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्रमा आयोजना हुने विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुनुहुने छ ।
विश्वविद्यालयबाट हालसम्म तीन ब्याचका स्नातक तथा स्नातकोत्तर तह उत्तीर्ण ११५ जना विद्यार्थी आज दीक्षित हुँदैछन् ।
राजर्षिजनक विश्वविद्यालयमा चार संकायका १३ वटा शैक्षिक कार्यक्रम अन्तर्गत एमफिल, एमबीए, बीबीए, बीडीबीएम, बीई–सिभिल, बीआईटी, बीसीए, बीएस्सी–सीएसआईटी, बीपीएच, बीएस्सी–एमएलटी, बीएस्सी–एजी, बीए–एलएलबी र बीजेएमसी कार्यक्रम समावेश छन् ।
२०७४ कात्तिक १२ गते स्थापित विश्वविद्यालय मातहत पाँचवटा आंगिक क्याम्पस र ६८ वटा निजी क्याम्पसले सम्बन्धन लिइसकेका छन् ।