रेवतबहादुर कार्कीको नेतृत्वमा राष्ट्र बैंकले गर्यो बैकिङ क्षेत्र सुधार उपसमिति गठन

नेपाल राष्ट्र बैंकले बैंकिङ क्षेत्र सुधार गर्नको लागि सुझाव उपसमिति गठन गरेको छ । धितोपत्र बोर्डका पूर्वअध्यक्ष डा रेवतबहादुर कार्कीको संयोजकत्वमा ३ सदस्यीय सुझाव उपसमिति गठन गरिएको हो ।

राष्ट्र बैंकको जेठ २१ गते बसेको संचालक समिति बैठकले सुझाव उपसमिति गठन गर्ने निर्णय गरेको हो । उपसमितिमा पूर्वबैंकर भुवन दाहाल सदस्य छन् भने सदस्य सचिवको जिम्मेवारी राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु पौडेललाई तोकिएको छ ।

कार्यकारी निर्देशक पौडेल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका प्रमुख हुन् । सदस्य दाहाल सानिमा बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत हुन् । उनी वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको संस्था नेपाल बैंकर्स एसोसिएसनका पूर्वअध्यक्ष पनि हुन् ।

राष्ट्र बैंकले ‘बैंकिङ क्षेत्र सुधार तथा विकासको लागि सुझाव पेश गर्न’ उपसमिति गठन गरेको हो । समितिलाई सुझाव पेश गर्न ३० दिनको समय दिइएको स्रोतले जानकारी दियो ।