सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले पछिल्लो एक सातामा भारतबाट फर्किएका १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जनाएको छ । कैलालीको त्रिनगर नाका र बैतडीको झुलाघाट नाकाबाट भित्रिएकाहरूमा सङ्क्रमण देखिएको हो ।
सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका अनुसार सुदूरपश्चिममा भारतबाट आएका दुई जनामा सङ्क्रमण पुष्टि भएको छ ।
निर्देशनालयका अनुसार गौरीफन्टा र झुलाघाट नाकामा एकरएक जनामा सङ्क्रमण देखिएको हो । सुदूरपश्चिमका विभिन्न नाकाबाट ६४३ जना नेपाल भित्रिएका थिए । जसमध्ये १४ जनाको परीक्षण गरिएकोमा दुई जनामा सङ्क्रमण पुष्टि भएको हो ।
त्रिनगर नाकामा कोरोना सङ्क्रमण पुष्टि भएका अधिकांश भारतको दिल्लीबाट घर फर्किएका व्यक्ति हुन् । यसले सुदूरपश्चिममा कोरोनाको जोखिम उच्च देखाएको स्वास्थ्यकर्मीहरू बताउँछन् ।
नाकामा रहेका हेल्थ डेस्कहरुमा पर्याप्त कीट नहुँदा परीक्षणमा समस्या हुने गरेको बताइएको छ । विभागले २०० कीट पठाएसँगै प्रदेशमा अहिले ३७० कीट मात्रै उपलब्ध रहेको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
कञ्चनपुरको गड्डाचौकी नाकामा १०० कीट मङ्गलबार उपलब्ध भएपछि परीक्षण सुरु गरिएको हो । जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले नाकामा परीक्षण सुरु गरिएको थियो ।
स्वास्थ्यकर्मीहरूले हेल्थ डेस्कमा भारतबाट फर्किएकाहरूको स्वास्थ्य अवस्था र लक्षणका बारेमा सोधपुछ तथा मलेरिया, डेङ्गीलगायतका अन्य परीक्षण र परामर्श गर्ने गरेका छन् ।