निर्माणाधीन फिल्म महाराजाधिराजमा कलाकारको लाइनअप बलियो भएको छ।फिल्ममा दुई अभिनेत्री वर्षा राउत र वर्षा शिवाकोटी एकसाथ देखिने भएका छन्।
फिल्मका लागि वर्षा राउत र वर्षा शिवाकोटीसँगै आर्यन सिग्देल, रमेश उप्रेती, पल शाह, पुष्प खड्का, र अभिनेत्री उषा रजक अनुबन्धित भएका छन्। फिल्ममा यसअघि नै जयकिशन बस्नेत, गजित विष्ट र आशा पौडेल अनुबन्धित भइसकेका छन्।
अहिलेसम्म सार्वजनिक स्टारकास्टलाई हेर्दा महाराजाधिराज फरक स्वादको कथावस्तुमा आधारित हुने संकेत देखिएको छ। जसमा पुराना र नयाँ पुस्ताका कलाकारको मिश्रण देखिएको छ। पुष्प फिल्ममा आप्mनो भूमिका विशेष र महत्वपूर्ण रहेको दाबी गर्छन्।फिल्म परिच्छेद सेनले निर्देशन गर्दैछन्।
आगामी दशैँको फूलपातीमा रिलिज हुने फिल्ममा निर्देशक सेन स्वयंको लेखन रहेको छ। उनले यसअघि निर्देशन गरेको प्रेमगञ्ज समीक्षात्मक रूपमा अब्बल ठहरिएको थियो।
फिल्म छत्रेश्वर म्यानेजमेन्ट प्रालिको ब्यानर र विराज विष्टको प्रस्तुतिमा टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रवि खड्काले निर्माण गर्नेछन्। विराजले यसअघि निर्माण गरेको बुलाकीले राष्ट्रिय अवार्ड जितेको थियो।