एक समय पृथ्वीमा ठोक्किन सक्ने सबैभन्दा उच्च जोखिम भएको क्षुद्रग्रहका रूपमा चिनिएको २०२४ वाईआर४ फेरि चर्चामा आएको छ। यसपटक भने यो चन्द्रमामा ठोक्किन सक्ने थोरै बढेको सम्भावनाका कारण चर्चामा आएको छ।
हाल पृथ्वीबाट हेर्न नसकिने दूरीमा रहेको यो क्षुद्रग्रह मे महिनामा जेम्स वेब स्पेस टेलिस्कोप (जेडब्लूएसटी) मा क्षणभरका लागि देखिएको थियो।
टेलिस्कोपको नियर(इन्फ्रारेड क्यामेराबाट संकलित डाटाको प्रयोग गर्दै जोन्स हप्किन्स एप्लाइड फिजिक्स ल्याबोरेटरीका एन्डी रिभकिन नेतृत्वको टोलीले २०३२ डिसेम्बर २२ मा २०२४ वाईआर४ कहाँ हुने भन्ने भविष्यवाणी लगभग २० प्रतिशतसम्म सुधार गरेको हो। त्यस संशोधित पथले चन्द्रमामा ठोक्किने सम्भावना ३।८ प्रतिशतबाट बढेर ४।३ प्रतिशत पुगेको नासालाई उद्धृत गर्दै स्पेस डटकमले जनाएको छ।
“डाटा आउँदा ठोक्किने सम्भावना परिवर्तन हुनु सामान्य हो,” नासाको वक्तव्यमा भनिएको छ। ठोक्किए पनि “चन्द्रमाको कक्षा परिवर्तन हुँदैन”।
भारतीय खगोल भौतिकशास्त्र संस्थान, बेंगलुरुका पूर्व अनुसन्धानकर्ता खगोलशास्त्री पवन कुमारले चन्द्रमा सुरक्षित रहेको बताएका छन्। उनले चन्द्रमासँग ठोक्किएर उत्पन्न हुने कुनै पनि टुक्रा पृथ्वी नजिकको अन्तरिक्षमा आइपुग्दा वायुमण्डलमा नै नष्ट हुने भएकाले चिन्ताको विषय नहुने बताएका छन्।
२०२३ डिसेम्बर २७ मा पहिलोपटक पत्ता लागेको २०२४ वाईआर४ को लम्बाइ अनुमानित रूपमा ५३ देखि ६७ मिटर (१७४–२२० फिट) रहेको छ, जुन झन्डै १० तले भवनको आकार बराबर हो।
पृथ्वीमा ठोक्किन सक्ने १ प्रतिशतभन्दा बढी सम्भावना भएको यो क्षुद्रग्रहले चाँडै नै समाचारमा व्यापक ध्यान खिचेको थियो। २०२४ को जनवरी र फेब्रुअरीमा थप अवलोकन गर्दा ठोक्किने सम्भावना १।२ प्रतिशतबाट बढेर अधिकतम ३।१ प्रतिशतसम्म पुगेको थियो।
त्यसबेला क्षुद्रग्रहको अनुमानित पथले पूर्वी प्रशान्त, उत्तरी दक्षिण अमेरिका, अफ्रिका र दक्षिण एसियासम्म फैलिएको सम्भावित क्षेप्य प्रभाव क्षेत्र देखाएको थियो।
यदि यो महासागर माथि पृथ्वीको वायुमण्डलमा प्रवेश गरेमा भने ठूलो सुनामी आउन नसक्ने नासाले बताएको थियो, तर बस्ती भएको क्षेत्रमा वायुमण्डलीय विस्फोट भएमा झ्याल फुट्ने र सामान्य संरचनात्मक क्षति हुन सक्ने अनुमान गरिएको थियो।
तर थप कक्षीय डाटा प्राप्त भएपछि ठोक्किने सम्भावना तीव्र रूपमा घटेको हो। फेब्रुअरी १९ मा सम्भावना १.५ प्रतिशतमा झरेको थियो भने त्यसको भोलिपल्ट ०.३ प्रतिशतमा घटेको थियो।
फेब्रुअरी २४ मा नासाले सामाजिक सञ्जालमार्फत औपचारिक रूपमा “सुरक्षित” भएको घोषणा गर्दै ठोक्किने सम्भावना मात्र ०।००४ प्रतिशतमा झरेको र २०३२ मा यो क्षुद्रग्रह पृथ्वीबाट सुरक्षित रूपमा पार हुने जनाएको थियो।
त्यसपछिका थप विश्लेषणहरूले न केवल २०३२ मा, तर भविष्यका सबै नजिकका मार्गहरूमा पनि पृथ्वीमा कुनै जोखिम नरहेको वैज्ञानिकहरूले पुष्टि गरेका छन्। चिली र हवाईबाट प्राप्त टेलिस्कोप डाटाले यो क्षुद्रग्रह मंगल र वृहस्पति ग्रहको बीचको मुख्य पत्तिमा उत्पत्ति भएको र विस्तारै पृथ्वीनजिकको कक्षामा पुगेको देखाएको छ।
अप्रिलको मध्यतिरदेखि यो क्षुद्रग्रह पृथ्वीबाट धेरै टाढा र धमिलो भएकाले देख्न सकिने छैन। यो २०२८ मा पुनः देखिनेछ, जसले वैज्ञानिकहरूलाई जेडब्लूएसटी र पृथ्वीस्थित टेलिस्कोप प्रयोग गरी यसको कक्षा अझ परिष्कृत गर्न पुनः मौका दिनेछ।
विशेषतः वैज्ञानिकहरूले यसको आकार र संरचना सम्बन्धी थप डाटा संकलन गर्न खोज्ने छन्, जुन यसको व्यवहार र प्रभाव बुझ्न महत्त्वपूर्ण हुन्छ। २०२४ वाईआर४ अब खतरा नभए पनि सुरुको पत्ता लाग्नेबेलादेखि लिएर जोखिम विश्लेषण र सार्वजनिक सन्देश प्रसारणसम्म यसले वैज्ञानिकहरूलाई ग्रहीय सुरक्षासम्बन्धी रणनीति अभ्यास गर्ने दुर्लभ अवसर दिएको थियो। यो भविष्यमा सम्भावित खतरनाक क्षुद्रग्रहप्रति हाम्रो प्रतिक्रिया कस्तो हुने भन्ने अभ्यासको उदाहरण भएको खगोलशास्त्री कुमारले बताएका छन्।
“२०२४ वाईआर४ ग्रहीय सुरक्षाका लागि उपयुक्त क्षुद्रग्रह हो,” उनले भने। “यसले हामी सबैको ध्यान खिच्न आवश्यक सबै कुरा बोकेको छ।”