भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै आएका प्रतिपक्षी दलहरूको अवरोधका कारण प्रतिनिधिसभा बैठक लगातार अवरुद्ध हुँदै आएको छ ।
भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने र छानबिन समिति बनाउनुपर्ने मागसहित प्रतिपक्षी दलहरूले आज बिहीबारसम्म आइपुग्दा १० दिन लगातार संसद् अवरुद्ध गरेका छन् ।
बिहीबार दिउँसो ३ बजेका लागि बोलाइएको संसद् बैठक दलहरूबीच सहमति खोज्ने प्रयासस्वरूप प्रतिनिधिसभाका महासचिव पद्मप्रसाद पाण्डेयले सूचना टाँस गरेर बेलुकी साढे ५ बजे बैठक बस्ने जानकारी दिनुभएको थियो ।
बिहीबारको बैठक सुरु भए पनि गतिरोध हट्न सकेन । बैठक सुरु भएलगत्तै प्रतिपक्षी दलहरूले अवरोध गरे । सञ्चालन गर्ने वातावरण नबनेपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गर्नुभयो । उहाँले संसद्को अर्को बैठक भोली शुक्रबार दिउँसो १ बजे बस्ने बताउनुभयो ।