सन् २०२६ मा अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा फिफा विश्वकप फुटबल प्रतियोगिता आयोजना गर्दै छन् । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले एक वर्षपछि आयोजना हुने विश्वकप प्रतिस्पर्धात्मक बनाउन पहिलोपटक ४८ राष्ट्रलाई सहभागी गराउनेछ । यसअघि कतारले आयोजना गरेको विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गरेका थिए । फिफाले विश्वकपका लागि छनोट प्रतियोगिता आयोजना गरिरहेको छ । आयोजक राष्ट्रका रूपमा अमेरिका, क्यानडा र मेक्सिको स्वत: छनोट भएका थिए ।
यसबाहेक ४५ राष्ट्रले विभिन्न चरणको छनोट प्रतियोगिता पार गरी विश्वकपमा स्थान बनाउनेछन्, जसमा अहिलेसम्म १३ राष्ट्रले स्थान पक्का गरेका छन् । १० राष्ट्रले छनोट चरणका माध्यमबाट विश्वकपमा आफ्नो स्थान पक्का गरिसकेका छन् । विश्वकपमा सर्वाधिक छनोट हुने राष्ट्र ब्राजिल हो । ब्राजिल लगातार २३औँपटक विश्वकपमा पुगेको छ । दक्षिण अमेरिकी छनोटमा ब्राजिलले बुधबार बिहान पाराग्वेलाई १–० ले हराउँदै स्थान पक्का गरेको हो । धेरै मुलुक सहभागी हुने विश्वकप भएका कारण सबै यसको प्रतीक्षा गर्दै खेल रोचक हुने विश्लेषण गरिएको छ ।