दक्षिण एशियामा मानव विकासका हिसाबले नेपालको अवस्था

मानव विकास सूचकाङ्क अर्थात् एचडीआइमा गत वर्षको तुलनामा नेपालको अवस्थामा केही सुधार आएको देखिए पनि धनी र गरिबबीचको असमानता थप बढेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ।

संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम यूएनडीपीले तयार पारेको र नेपालमा गत मङ्गलवार सार्वजनिक गरेको एचडीआई प्रतिवेदनअनुसार १९३ देशमध्ये नेपालको स्थान १४५औँ स्थानमा रहेको छ।

नेपालमा यूएनडीपीले सन् २०२५ को प्रतिवेदन सार्वजनिक गरेको हो। गत वर्ष नेपालको स्थान १४६औँ स्थानमा रहेको थियो।

विगत केही दशकदेखि लगातार आफ्नो मानव विकास सूचकमा व्यापक सुधार गर्दै आएको नेपालले पछिल्ला केही वर्षहरूमा सोही गति लिन नसकेको कतिपय जानकारहरू बताउँछन्।

त्यसका विभिन्न कारणहरू रहेका र सबैभन्दा मुख्य कारण नेपालको सङ्घीयदेखि स्थानीय सरकारहरूसम्मले मानव विकासका सूचक बढाउनेतर्फ ध्यान कम केन्द्रित गर्नु रहेको उनीहरूको भनाइ छ।

मानव विकास सूचकका हिसाबले नेपालको अवस्था दक्षिण एशियाली देशहरूमा खासै राम्रोमा परेको छैन।

उक्त प्रतिवेदनअनुसार दक्षिण एशियामा सबैभन्दा राम्रो एचडीआई भएको देश श्रीलङ्का हो।

एक सय ९३ देशमध्ये श्रीलङ्का ८९औँ स्थानमा छ भने त्यसपछि दोस्रोमा रहेको माल्दिभ्स ९३औँ स्थानमा रहेको छ।

त्यसैगरी भुटान १२५औँ, भारत र बाङ्ग्लादेश १३०औँ अनि पाकिस्तान १६८औँ र अफगानिस्तान १८१औँ स्थानमा रहेका छन्।

मानव विकास सूचकमा प्रतिव्यक्ति आयका साथमा, औसत आयु, शिक्षा, स्वास्थ्य, सरसफाइ, सामाजिक सुरक्षा, गरिबीको अवस्था, लैङ्गिक समानतालगायतका विषयहरू हेरिन्छन्।