ग्लोबल आइएमई क्यापिटलले असार २२ गतेदेखि ल्याउँदै तेस्रो म्युचुअल फण्ड

ग्लोबल आईएमई क्यापिटलले असार २२ गतेदेखि सामुहिक लगानी कोष योजना म्युचुअल फण्ड को इकाई बिक्री गर्ने भएको छ । क्यापिटलले ग्लोबल आईएमई म्युचुअल फण्ड अन्तर्गत रहने गरि ग्लोबल आईएमई सम्मुनत योजना २ नामक सामुहिक लगानी कोष योजनाको इकाई निष्काशन गरेको हो ।

बन्दमुखी प्रकृति रहेको उक्त योजनाको अवधि १० वर्ष रहेको छ । यस योजनाको आकार १ अर्ब २० करोड रहेको छ र प्रति इकाई १० रुपैयाँको दरले १२ करोड इकाई निष्काशन गरिएको छ। जस मध्ये १३.५० प्रतिशत अर्थात् १ करोड ६२ लाख इकाई कोष प्रबर्दक ग्लोबल आईएमई बैंकलाई, र १.५ प्रतिशत अर्थात् १८ लाख इकाई ग्लोबल आईएमई क्यापिटललाई छुट्याएर बाँकि रहेको १० करोड २० लाख इकाई आम सर्वसाधारणको लागि निष्काशन गरिएको छ।
यसमा लगानीकर्ताले छिटोमा असार २५ गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा ढिलोमा साउन ४ गतेसम्म आवेदन दिन सक्ने छन् । आवेदन दिंदा न्युनतम १०० इकाई र अधिकतम १ करोड २० लाख इकाईको लागि दिन सकिने छ। यससँगै ग्लोबल आईएमई क्यापिटलले संचालन गर्ने यो तेस्रो म्युचुअल फण्ड हुनेछ ।