क्यान्सर पिडित धवल शमशेर अदालतमा हाजिर, रविन्द्र फरार

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद तथा महामन्त्री धवलशमेशर राणा अदालत उपस्थित भएका छन् ।

तीनकुने हिंसात्मक घटनाका अभियुक्त उनी आज सोमबार काठमाडौं जिल्ला अदालतमा हाजिर भएका हुन् ।

राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव र सङ्गठित अपराधको कसुरमा मुद्दा चलाइएका राणाको बयान न्यायाधीश शिवप्रसाद खनालको १० नम्बर इजलासमा तोकिएको छ ।

गत चैत १५ गते राजावादीहरुले गरेको प्रदर्शन हिंसात्मक हुँदा दुई जनाको मृत्यु हुनुको साथै चार दर्जनभन्दा बढी घाइते भएका थिए । त्यस्तै, राजावादी प्रदर्शनकारीले आगजनी र तोडफोड गर्दा अर्बौंको भौतिक क्षति भएको थियो । यस घटनामा प्रहरीले १०८ जनालाई मुद्दा चलाउन रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंलाई बुझाएको थियो ।

तर, सरकारी वकिलले राणासहित आन्दोलनका ‘जनकमाण्डर’ दुर्गा प्रसाईँ, राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलगायत ६१ जनाविरुद्ध गत जेठ ११ गते जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । मिश्र र राणासहित फरार प्रतिवादीबाहेक अरुको हकमा अदालतबाट आदेश आइसकेको छ ।

प्रसाईँसहित सात जना पुर्पक्षका लागि कारागार चलान हुँदा बाँकीलाई अदालतले १० हजारदेखि एक लाखसम्म धरौटी लिएर छोडेको छ ।

क्यान्सर पीडित राणा भने उपचारका लागि भन्दै राजनीतिक सहमतिमा हाजिरी जमानीमा छुटेका भएका थिए । प्रहरीले बोलाएको समयमा उपस्थित हुने शर्तमा रिहा भएका उनी मुद्दा दर्ता भैकन आदेश आइसक्दा पनि सम्पर्कमा आएका थिएनन् । आज भने आफैँ अदालत पुगेको बताइएको छ ।

बन्दीप्रत्यक्षीकरणको आदेशले छुटेका मिश्र भने अझैपनि सम्पर्कविहीन छन् ।