उदयपुरमा एक किशोरी र एक युवकको शव फेला परेको छ।
चौण्डीगढी नगरपालिका-४ अमलचौरीमा शंकास्पद अवस्थामा किशोरी र युवकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
स्थानीय २८ वर्षीय रविन राई र सोही ठाउँकी १४ वर्षीया किशोरी मञ्जु राईको शव आज बुधबार बिहान गाउँमै फेला परेको हो।
मञ्जुको शव अमलचौरीको सार्वजनिक बाटोमा फेला परेको र त्यसको दुई सय मिटर नजिकै रविनको शव भेटिएको प्रहरीले जनाएको छ। रविनको शव भने झुन्डिएको अवस्थामा फेला परेको हो।
घटनाको प्रकृति हेर्दा युवकले बलात्कारपछि किशोरीको हत्या गरेको र त्यसपछि आफूले आत्महत्या गरेको आशंका स्थानीयले गरेका छन्।
दुवै शव पोस्ट मार्टमको लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाउने तयारी भएकाले थप अनुसन्धान कार्य हुँदैछ, थप विवरण पछि खुल्ने प्रहरीको भनाई छ ।
बिहानै स्थानीयले गाउँमा किशोरी र युवकको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।
किशोरी स्थानीय सरकारी विद्यालयमा कक्षा १० मा पढ्दै आएकी थिइन् भने काठमाडौँ बस्दै आएका युवक भने विदेश जानको लागि केही दिनअघि मात्रै पासपोर्ट बनाउन घर गएको आफन्तले बताएका छन्।
मृतक युवक र किशोरी नजिकै घर भएका छिमेकी हुन्।