देशमा साढे ११ प्रतिशत जनसंख्या बेरोजगार रहेको सरकारको स्वीकारोक्ती

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले देशको ११.६ प्रतिशत व्यक्तिहरू बेरोजगार रहेको बताउनुभएको छ ।

आज मंगलबारको प्रतिनिधिसभाको बैठकमा उहाँले श्रम र रोजगारीको विषय मुलुकको अर्थतन्त्रको विकास र समृद्धिसँग जोडिएको विषय भन्दै यसबारे जानकारी गराउनु भएको हो ।

जनसंख्याको ठूलो हिस्सा बेरोजगारीको अवस्थामा रहेको हालको परिप्रेक्ष्यमा तदुनुरुपको रोजगारी मुलुकभित्रै सिर्जना गर्न थप चुनौती र चिन्ताको विषय बनेको छ उहाँले भन्नुभयो ।

नेपालभित्रै रोजगारीको उपयुक्त अवसर नहुनु र भएका केही रोजगारीमा समेत सीप र ज्ञानको अभावमा विदेशी नागरिकहरू संलग्न रहेको अवस्था छ।

वैदेशिक रोजगारीमा युवाको आकर्षणलाई मुलुकभित्रैको रोजगारीमा संलग्न गराउनु मुख्य चुनौती रहेको उहाँको भनाइ छ।

उहाँले बेरोजगार दर कम गर्न आगामी १० वर्षका लागि आन्तरिक रोजगार प्रवर्द्धन दशकको अभियान सञ्चालन गर्ने निर्णय गरेको पनि सुनाउनुभयो ।