काठमाडौँको विष्णुमती खोलामा गएराति कारसहित खसेकी युवतीलाई उद्धार गरी बचाएको भिडिओ सार्वजनिक भएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार गएराति सवा १० बजेतिर टोखा नगरपालिका ८ स्थित बानियाँटार पुलनजिक कारसहित खोलामा बग्दै गरेकी महिलालाई नेपाल प्रहरी र स्थानीय नागरिकको साहसिक प्रयासले बचाउन सकिएको हो।
ग्रान्डी अस्पतालनजिकै विष्णुमती खोलामा युवतीसहित बा प्र०१०३१ च ६१४१ नम्बरको कार बगिरहेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। त्यसपछि तुरुन्तै खटिएको प्रहरी टोलीले स्थानीय नागरिकको समेत सहयोगमा ती युवतीलाई सकुशल उद्धार गरेको हो।
प्रहरीका अनुसार उनी दाङको तुलसीपुर घर भई हाल काठमाडौँको टोखा बस्ने ३४ वर्षीया भावना ओली हुन्। अर्धचेत अवस्थामा रहेकी उनलाई अहिले उनी वसुन्धारास्थित ग्रिनसिटी अस्पतालमा उपचारत छिन्।
प्रहरीका अनुसार त्यो कार कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १ घर भई हाल काठमाडौँको धुम्बाराई बस्ने ३५ वर्षीय अंकुश सिंहले चलाएका थिए। उनी भने कार विष्णुमती खोलामा खस्नासाथ गाडीबाट बाहिर निस्केका थिए।