हरेक वर्षको जुन २६ तारिखलाई अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवसका रूपमा मनाउने निर्णय संयूक्तराष्ट्रसंघको सन् १९८७ को घोषणापत्रको ४२ को ११२ खण्डमा उल्लेख गरिएको रहेछ ।
यस दिनको एउटा मात्र उद्देश्य भनेको विश्व समुदायलाई लागुऔषधिको असर र कारोबारबाट मुक्त गराउनु हो ।
नेपालमा पनि लागु औषधिको कारोबार र प्रयोग सन् १९६० पश्चात्को हिप्पी संस्कारपछि बढ्दै गएको पाइन्छ ।
गाँजाको अनधिकृत खेती र प्रयोग अनि भारतबाट सहजै आयात गर्न मिल्ने पदार्थ र फितलो राज्यव्यवस्थाका कारणले अहिले नेपाल पनि लागु औषधिको कार्य भूमि बन्दै आएको बताइन्छ । उता ओखती अनि डाक्टरी कागजको उपयोग गरेर विभिन्न लागु औषधि किनेर खाने र सुई हान्नेको जमात पनि नेपालमा बढ्दो छ जुन अत्यन्त दुक्ख लाग्दो कुरा हो ।
सडक बालबालिकाले डेन्ड्राइट नामक सुँघेर नशा लाग्ने तत्त्वको प्रयोग खुलेआम गरिँदा पनि प्रशासन लगभग मौन नै देखिन्छ । नेपालका विभिन्न सहरहरूमा व्यवसाहीक रूपमै खोलिएका दुर्व्यसन सुधार केन्द्रहरू अनि तिनको व्यवसाहीक सफलताले हाम्रो वास्तविक अवस्था बयान छ ।
आजको यस विशेष दिन अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवसमा नेपाली सरकार, समुदाय अनि सरोकारवालाले यस विषयमा संवेदनशीलताका साथ हातेमालो गर्नुपर्ने देखिन्छ ।
लागु औषधको सेवनले हिरो हैन जीरो बनाउँदछ भन्ने कुराहरू आउँदा नेपाली पुस्तालाई दिन जरुरी छ । चुरोटका ठुटा वाट खोक्दै सुरु गरेको नशा यात्रा गएर कहाँ अनि कति पर सकिन्छ थाहा हुँदैन, जीवनमा रस खोजौँ नशामा हैन भन्ने कुराको जानकारी सबैलाई गराउन पर्ने देखिन्छ ।
नेपालमा कमजोर राज्यव्यवस्थाको उपयोग गर्दै लागु औषध तस्करका ठुलै सञ्जाल सक्रिय रहेको पनि बताइन्छ । उनीहरूको सञ्जाल विमानस्थल, भन्सार, सीमा अनि आयात निर्यात केन्द्रमा प्रभावशाली रहेको पाइन्छ ।
सामान्य वैदेशिक कामदारले ल्याएको टिभीको पनि खोलेर तलासी लिने अनि दुख्न दिने सरकार अनि कर्मचारीको नाकैमुनीवाट हजारौं किलो लागु औषध ल्याइन्छ तर त्यो भने देखिन्न ।
आजको दिन हामी सबैले लागु औषधको कारोबार र तस्करका विरुद्ध एक हुन पर्ने अनि त्यसै अनुसारको कानुन र त्यसको प्रभावकारी पालनका लागि पैरवी गर्नु पर्ने देखिन्छ ।
अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवसको सबैलाई शुभकामना !!!