रामकुमारीको अभिव्यक्तिप्रति कार्यकर्ताहरुको आक्रोश

नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीको पछिल्लो अभिव्यक्तिले सो पार्टीका नेता तथा कार्यकर्ताबीच तरंग ल्याएको छ ।

पार्टी निकट युवा संघ नेपालको लुम्बिनी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्ने क्रममा उनले अध्यक्ष माधवकुमार नेपाललक्षित चर्को धारणा राख्नुभएको हो ।

‘काँधमा सिनो हालेर अघि बढ्न नसकिने’ भन्ने झाँक्रीको अभिव्यक्तिले धेरैलाई झस्काएको छ । अर्ली महाधिवेशनबाट पार्टी पुनर्गठन नगरिए चाँडै विघटन हुने उहाँको चेतावनी छ ।
अध्यक्ष नेपाल पतञ्जली जग्गा प्रकरणमा मुछिएको, प्रमुख सचेतक मेटमणि चौधरीमाथि करोडौँ आर्थिक लेनदेनको आरोप लागेको र सुदूरपश्चिम संसदीय दलका नेता दीर्घ सोडारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको पृष्ठभूमिमा झाँक्रीको पछिल्लो अभिव्यक्ति आएको हो ।

‘पार्टीमा यतिबेला ठूलो संकट आएको छ, अध्यक्षमाथि नै संकट छ, पार्टीका अन्य पदाधिकारी र सदस्यमाथि नै संकट आयो, पार्टीलाई बलियो बनाउने भनेकै यस्तै संकटहरुबाट हो’, झाक्रीले भन्नुभयो, ‘पार्टीलाई पुर्नगठन गरौँ, अर्ली महाधिवेशनबाट अध्यक्ष बनाऔँ, अब यसरी काँधमा मरेको सिनो हालेर हिँड्न सकिँदैन, अहिलेको संकट टार्न अली महाधिवेशन गरौँ, हलबाट नेतृत्व छानौँ, तपाई हामी जो पनि नेतृत्वमा आउन सक्छ ।’

वर्तमान कार्य समितिबाट नयाँ अध्यक्ष बनाउन नहुने टक गर्दै उहाँले भन्नुभयो, ‘मतदाता नामावलीबाट सारेर ल्याएका मान्छे, टीका लगाएर केन्द्रीय समितिमा आएका मान्छेहरुबाट चुन्ने हो भने यो पार्टी कहिल्यै बन्दैन, पार्टी विघटनको दिशातिर जाने पक्का छ ।’

झाँक्रीको उक्त अभिव्यक्तिले कार्यकर्तापंक्तिमा मिश्रित तरंग ल्याएको छ । सामाजिक सञ्जालमा कतिपयले अर्ली महाधिवेशन गर्ने कुरामा समर्थन जनाउँदा केहीले भने झाक्रीले जथाभावी बोलेको जनाउँदै आक्रोश पोखेका छन् ।